कमल/ बढ्दो मानसिक रोग सम्बन्धि समस्याको गाउँमै उपचार तथा परामर्श सेवा प्रदान गर्ने उद्धेश्यले झापाको कमलमा विशेषज्ञ डाक्टरको सेवा विस्तार गरिएको छ ।
स्थानीय सरकारको मातहतमा सञ्चालित कमल २ स्थित कमल नगर अस्पतालमा हरेक महिनाको तेस्रो बुधबार सो सेवा सञ्चालन गर्न शुरु गरिएको कमल नगर अस्पतालका प्रमुख डा. फुलकचन्द्र लावोतीले जानकारी दिए ।
असोजको तेस्रो बुधबार (हिजो) पूर्व क्षेत्रका प्रसिद्ध मनोरोग विशेषज्ञ डा. नवराज कोइरालासहितको टिमले यो सेवा प्रदान गरेको छ । पहिलो दिन आठ जनाले यो सेवा लिएका छन् ।
विराट टिचिङ हस्पिटल विराटनगरबाट आएको डा. कोइरालासहितको टिमले अस्पतालमा ल्याइएका मनोरोगसँग सम्बन्धित समस्याका बिरामीहरुलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरेको छ ।
डेढ बर्ष अघिदेखि स्वास्थ्य बीमाको सुविधासहित सञ्चालित कमल नगर अस्पतालमा प्रसुति सेवासँगै आकस्मिक सेवा, नियमित ओपिडी जाँच, ल्याब तथा आम्दा अस्पतालसँगको समेत सहकार्यमा नियमित स्वास्थ्य परिक्षण, फार्मेसी सेवा आदि समेत सञ्चालनमा रहेको अस्पतालका निरिक्षक दिपक दाहालले बताए ।