दमक/ कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले चाड पर्वलाई हर्साेलास र आपसी सदभावसहित मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन गरेका छन् ।
भर्चुअल माध्यमबाट जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई खापुङले त्यस्तो निर्देशन दिएका हुन् ।
प्रमुखहरुलाई चाडपर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, कालोबजारी नियन्त्रण, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार, आतसवाजी तथा पटका जन्य पदार्थहरुको ओसार पसारलाई नियन्त्रण गर्न सीमा नाकाहरु केन्द्रित चेकजाँचलाई कडा बनाउन पनि निर्देशन गरे । सवारी साधनहरुमा मानिसहरुको आवत जावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागि यात्रु सहायता कक्षको स्थापना गरी आवागमनलाई थप सहजता बनाउन र दुर्घटना नहुने गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत प्रहरी प्रमुख खापुङको निर्देशन छ ।
वहाँले चाड पर्वको बहानामा हुने तास, जुवा, जाँड रक्सी सेवन, लागुऔषधको प्रयोगलाई पुर्णरुपमा नियन्त्रण गर्न, फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रताका साथ कार्यान्वयन गर्न, मापसे चेकिङलाई कडाईका साथ निरन्तरता दिन र बिशिष्ठ व्यक्तिहरुको सुरक्षा तथा महत्वपुर्ण प्रतिष्ठानहरुको सुरक्षामा त्रुटिरहित तवरबाट सुरक्षा व्यवस्था मिलाउन पनि निर्देशन दिए ।
मौसम प्रतिकुलताको कारण वाढी, पहिरो, डुवान जस्ता बिपदका घटनाहरु भईरहेको अवस्थामा प्रहरी संवेदनसिल भएर अन्य सुरक्षाका निकायहरुसंग समेत समन्वय र सहकार्य गरी आफुसंग भएको सिमित साधन स्रोतको अधिकतम प्रयोग गरेर परिचालन हुन समेत प्रहरी प्रमुखको निर्देशन छ ।