दमक/  दशैंको सन्मुख पारेर दमक नगरपालिकाले अति विपन्न नगरबासीहरुलाई खाद्यन्न सहयोग वितरण शुरु गरेको छ ।
पहिलो चरणमा नगरपालिकाले हरेक वडाबाट छनोट गरिएका अति विपन्न कूल ३०० परिवारका लागि ५० केजी चामलसहित अन्य खाद्यन्न सहयोग वितरण गरिएको हो । प्रति परिवार ५० केजी चामलसँगै २ केजी दाल, २ लिटर खाने तेल, २ केजी नुन र साबुन समेत उपलब्ध गराइने नगरपालिकाका सामाजिक बिकाश शाखा प्रमुख केशव प्रसाइँले जानकारी दिए ।
नगरपालिकाको प्राङगणमा बुधबार आयोजित संक्षिप्त कार्यक्रमबीच खाद्यन्न वितरण शुभारम्भ गर्दै नगर प्रमुख रामकुमार थापाले नगरको सिमित स्रोत साधनका बाबजुद खरिद गरिएको खाद्यन्न राहत लक्षित वर्गलाई पुरयाउन खोजिएको बताए ।

उनले स्थानीय सरकारसमक्ष नागरिकहरुका आवश्यकता र मागहरु धेरै भएता पनि प्राथमिकताका आधारमा नगर सभाबाट निर्धारित कार्यक्रमहरुको कार्यान्वयनमा लागिपरेको उल्लेख गरे ।
दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले चाडपर्वको सन्मुखमा विपन्नहरुलाई थोरै भए पनि राहतको महसुस गराउनु स्थानीय सरकारको दायित्व हुने भएकाले कोही भोको हुन नपरोस भन्ने उद्धेश्यले यो कार्यक्रम ल्याइएको बताइन् । उपप्रमुख भट्टराईले भौतिक पूर्वाधारहरुको बिकाससँगै मानव संशाधनको बिकास अपरिहार्य हुने उल्लेख गरिन् । उनले हरेक नागरिकहरुको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्ने जिम्मा सरकारको भएको र नागरिकलाई सरकारको अनुभूति दिलाउन खाद्यन्न सहयोगको कार्यक्रम महत्वपूर्ण भएको बताइन् ।

दमक नगरपालिका सामाजिक बिकास समिति संयोजक शारदा सापकोटा भट्टराईको अध्यक्षतामा भएको खाद्यन्न सहयोग वितरण शुभारम्भ कार्यक्रममा संयोजक भट्टराईले बिकास निरन्तर चल्ने प्रकृया भएकाले आगामी दिनमा वडाहरुमा पूर्वाधार बिकासको बजेट कटौती गरेर भए पनि यस किसिमको सहयोगलाई बढाइनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्की,  दमक नगरपालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओली ,  सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराईले पनि विपन्नहरुलाई खाद्यन्न सामग्री हस्तान्तरण गरेका थिए ।  कार्यक्रममा ओली र भट्टराईले नगरपालिकाले ल्याएको सो कार्यक्रमको प्रशंसा गरे ।
नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख  प्रसाइँले वडा नं १ का लक्षित परिवारलाई सो सहयोग वितरण गर्न शुरु गरिएको र १० ओटै वडामा वितरण गरिने जानकारी दिए । नगरपालिका मार्फतनै सबै वडाका लक्षित परिवारलाई सो खाद्यन्न पुरयाइने प्रमुख प्रसाइँले बताए ।

Facebook Comments Box