दमक/ झापामा पछिल्लो एक साता भित्र खोलामा डुबेका चारै जनाको शव फेला परेको छ । गौरीगञ्ज २ कोरोबारीका ६० बर्षिय महेश्वर न्यौपानेको शव मंगलबार बिहान फेला परेसँगै पछिल्लो एक साता भित्र खोलामा डुबेका झापाका चारै जनाको शव फेला परेको हो ।
न्यौपानेको शव आज मंगलबार बिहान ७ः३० बजे सोही खोलामा भेटिएको हो । हिजो बिहान भैसी बाँध्न जाँदा उनलाई खोलाले बगाएको थियो ।
साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनलाई खोलाले बगाएको आशंकामा खोजी गरिएको थियो ।
त्यसैगरी सोही खोलाले बगाएका कमल गाउँपालिकामा वडा नं १ का ३५ बर्षिय टिकाराम चौधरी तीन दिनपछि खोलामा मृत भेटिएका थिए । उनी गत शुक्रबार साँझ ७ बजे कमल– १ स्थित कृष्णे खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए ।
त्यसैगरी कचनकवलमा जमुना खोलाले बगाएकी कचनकवलकी १५ वर्षीया नेहारिका राजवंशी सोमबार मृत भेटिएकी थिइन् ।
त्यस्तै, गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ बगहाचौधरी र वडा नम्बर ४ को बेलडाँगीबीच सिमानामा रहेको किस्ने खोलाको पुलबाट हामफालेका केमालाल ताजुरियाको शव शनिवार साँझ भेटिएको थियो ।
यि बाहेक शिवसताक्षी ५ स्थित कन्काई बगरमा खोलाले बगाएर ल्याएको अवस्थामा एक जना पुरुषको शव भेटेर पोष्टमार्टमका लागि पठाइएको छ । ति व्यक्तिको पहिचान खुलिसकेको छैन भने कमल १ कै एक युवकको ललितपुरमा खोलामै डुबेर मृत्यु भएको बताइएको छ ।