दमक/  भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल  गृह जिल्ला झापामा व्यस्त छन् । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका नेकपा एमालेका नेता एवं मन्त्री दाहालले दमकमा पार्टीद्धारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा संविधान संशोधन गरेर जनताले पाएका अधिकार खोस्न खोजेको भन्दै गलत ढंगबाट प्रचार भइरहेको बताए ।
नेकपा एमाले दमक नगर कमिटीले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री दाहालले विरोधीले जनतालाई भ्रममा पार्न कुप्रचार गरेको टिप्पणी गरे ।
नेकपा एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलको अध्यक्षतामा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै मन्त्री दाहालले समानुपातिक समावेशी, संघीयता लगायतका अपरिहार्य बुँदा तलमाथि नहुने स्पष्ट पारे ।
निर्वाचन प्रणालीलाई भने परिमार्जन गर्नु पर्ने आवश्यकता रहेको छ मन्त्री दाहालको भनाई छ ।
दाहालले आम जनताको सल्लाह सुझाव अनुसार संविधान संशोधन हुने बताए । संविधानको प्रसङ्ग उठाउदै एउटा पार्टीको चाहानामा संविधान संशोधन नहुने र सबै राजनीतिक पार्टीको सहमतिमा मात्र संविधान संशोधन हुने भन्दै विभिन्न हल्लाको पछि नलाग्न पनि उनले पार्टी कार्यकर्ताहरुलाई आग्रह गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले कुनै पनि पार्टीलाई बहुमत नदिएको र एलायन्स गरेर बनेका सरकार पनि कुनै स्थिर नभएको कारण एमाले र काग्रेसको संयुक्त सरकार बनाउनु पर्ने वाध्यतात्मक परिस्थिती आएको पनि तर्क गरे ।
एमाले काग्रेसको संयुक्त सरकार बन्नुका पछाडीको पृष्ठभुमीबारे बोल्दै यस्तो अवस्था बहुदलीय ब्यवस्थामा कमै मात्र हुने गरेको उल्लेख गरे ।
सरकारको स्थिरता र विकासका लागि काग्रेस एमालेलेको संयुक्त सरकार बनेको मन्त्री दाहालको स्पष्टोक्ति छ । ३ वर्ष बिकासका काम गर्ने वातावरण बनेको पनि मन्त्री दाहाले प्रष्ट गरे ।
एमाले नगर कमिटी अध्यक्ष पौडेलले नगर भित्रका महत्वपूर्ण योजनामा ध्यानाकर्षण गराउँदै ध्यानाकर्षण पत्र हस्तान्तरण गरे । त्यसअघि बिहिबार साँझ दमक नगरपालिकाले मन्त्री दाहाललाई स्वागतसहित बधाई ज्ञापन गर्ने औपाचारिक कार्यक्रम राखेको थियो । नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ लगायतले मन्त्री दाहाललाई बधाई दिँदै नगरका महत्वपूर्ण योजनाहरु सञ्चालनमा आइपरेका कठिनाईहरु बारे अवगत गराउँदै समाधानका लागि नीतिगत र व्यवहारिक रुपमा समेत पहल गरिदिन माग गरे ।
मन्त्री दाहालले झापाका हुलाकी मार्गमा निर्माणाधिन पूल तथा अन्य ठाउँका बिकास निर्माणका योजनाहरुको स्थलगत निरिक्षण गरेर आवश्यक जानकारी लिनुका साथै सम्बन्धित निकायलाई आवश्यक निर्देशन गरेका छन् । उनी प्रतिकूल मौसमका कारण शनिबार साँझ काठमाडौं फर्किने कार्यतालिका प्रभावित बनेको एमाले नगर कमिटी अध्यक्ष पौडेलले बताए ।

 

Facebook Comments Box