दमक/ लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले शुक्रबार झापामा दुई जनालाई बगाएको छ । शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका वडा नं १ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ बर्षिय टिकाराम चौधरीलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित चमरभित्ताबाट झकुवा टोल आउदै गरेकी सोही ठाउँकी पन्चु राजवंशीकी १४ बर्षिया छोरी नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको छ ।
अपरान्ह करिब ४.४० बजे सो घटनाबारे प्रहरीमा जानकारी आएको थियो ।
खोलामा वेपत्ता कमलका चौधरी र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीबासीहरु जुटेका छन् । यो खबर तयार पार्दा सम्म उनीहरुलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दले जानकारी दिए ।
आजै आएको बाढीले कचनकवल १ कुट्टी बजार देखी पुर्व सोमबारे बजार भेलामुनी टोल जाने अदुवा खोलामा रहेको काठको पुल बाढीले बगाएको छ भने त्यहाँ एउटा मोटरसाइकल समेत खोलाले बगाएको छ ।
कचनकवल गाँउपालिका वडा नं.२ मा रहेको अमरखुट्टा खोला तर्ने क्रममा प्र.१–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको र चालक २७ बर्षिय रबिन भट्टराई भने सकुशल निस्किन सफल भएका छन् । सो घटना मध्यान्ह १२ बजेतिर भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै झापाको अर्जुनधारा नगरपालिका वडा न. ७ स्थित बिरिङ खोलामा रहेको खुदुनाबारी–शनिश्वरे जोड्ने मोटरेवल पुल बाढीले क्षति पुरयाएको छ ।