दमक/ पाँचथरको कुरुम्बाबाट आएर दमकमा बसोबास गर्ने कुरुम्बेलीहरुको संस्था कुरुम्बेली दमक समाज सेवा संघको प्रथम अधिवेशन तथा पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघले दमक ७ स्थित किराँत भवन रायालि सेवा समितिको सभाकक्षमा बुधबार आयोजना गरेको सभाको अवसरमा नेतृत्व चयन भएको छ ।
सो अवसरमा संस्थालाई योगदान पुरयाउँने छत्रहाङ लिम्बु, कमला लिम्बुसहित संघका अग्रज, ज्येष्ठ सदस्यहरु, एसईई परीक्षा २०७९ र २०८० का उत्कृष्ट नतिजा प्राप्त गर्न सफल बिद्यार्थीहरु लाजिमा लिम्बु, आयुस्मा राई, अनुप आङदेम्बे र साङगेना राईलाई समेत सम्मान गरिएको छ ।
अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रमबाट पुनः ऐमानसिंह लावतीको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन भएको छ ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा कमला योङहाङ, सचिवमा धिरेन लाओती, सहसचिवमा विरबहादुर लाओती , कोषाध्यक्षमा रेखा राई, प्रवक्तामा गगन लाओती चुनिएका छन् ।
१७ सदस्यीय निर्वाचित समितिका सदस्यहरुमा मेघराज माखिम,मिलन लाओती,चन्द्रकुमारी चेम्जोङ लाओती, मिना लाओती,कुमारी योङहाङ,गोविन्द लाओती,मनुका चेम्जोङ राई,बसन्त हेम्वया लाओती,सुनिता लाओती,दिनेश लाओती,खगेन्द्र माखिम लगायत रहेको छन् ।
सामाजिक व्यक्तित्व खड्गसुन्दर लाओतीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उदघाटन कार्यक्रममा सामाजिक व्यक्तित्व जितमान राईको विशेष आतिथ्य रहेको थियो । सभाले संस्थाका अध्यक्ष , कोषाध्यक्षबाट प्रस्तुत प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरेको जनाइएको छ । सो संघले कुरुम्बेलीहरुको घर परिवार तथा समाजमा आइपर्ने विभिन्न घटनाहरुमा आवश्यक सहयोग पुरयाउँदै आएको र शोक समवेदना व्यक्त गर्ने गरेको तथा बिरामीहरुको उपचारमा समेत सहयोग गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका उपाध्यक्ष रुपधन राईले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन सहसचिव विरबहादुर लावोतीले गरेका थिए ।
सो अवसरमा कलाकारहरु दिलिप माखिम, एन्जिला गुरागाइँ, रोका लगायत कलाकारहरुले सांगितिक मनोरञ्जन प्रदान गरेका थिए । संघमा आवद्ध आजीवन सदस्य ,साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।