दमक/ एक जना सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै ८० हजार रुपैयाँ घुस लिएको आरोपमा विप्लव नेतृत्वको नेकपा झापाका कार्यकर्ताद्धारा पक्राउ गरी प्रहरीमा बुझाइएका एक जना वडाध्यक्ष र घुस रकम भनि दाबी गरिएको रकम दिने दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो विर्तामोडको हनुमान कम्प्लेक्समा भारतको सिलिगुढीका अमरनाथ चौहानसँग ८० हजार रुपैयाँ घुस रकम लिएको आरोपमा पक्राउ परेका बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली र घुस भनिएको रकम दिने चौहान दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले लगेको हो ।
विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालय अनारमनीको जिम्मा लगाएका वडाध्यक्ष ओलीसँगै रकम दिने सिलिगुढीका चौहानलाई अख्तियारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । नेकपा झापाका जिल्ला सेक्रेटरी सञ्जय राईले आरोपित ओलीले लिएको रकम घुस बापतकै रकम भएको दाबी गरेका छन् ।
वडाध्यक्ष ओलीलाई विप्लव कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउँदै गर्दाको भिडियो सामाजिक सञ्जाल मार्फत बाहिरिएको छ । भिडिओमा वडाध्यक्ष ओलीले काम बनेपछि सेवाग्राही आफैंले सो रकम दिन्छु भनेको सुनिन्छ । भारतको सिलिगुढीका भनिएका चौहानसँग रकम मागेकोबारे विस्तृतमा भने सार्वजनिक भएको छैन । नेकपा झापाका नेताहरुले भने आफूहरुले सो घुस रकम लिने वडाध्यक्ष ओलीलाई विशेष अप्रेशन मार्फत पक्राउ गरेर प्रहरीमा बुझाएको उल्लेख गरेका छन् ।
जिल्ला सेक्रेटरी राईले झापाका कतिपय स्थानीय तहमा कर्मचारी भर्ती, सेवा तथा सामग्री खरिद, ठेक्का पट्टा लगातका कार्य सम्पादनका क्रममा कर्मचारी र जनप्रतिनिधिहरुको मिलेमतोमा व्यापक अनियमितता र भ्रष्टाचार हुने गरेकाले त्यसको प्रमाण संकलन गर्ने काम भइरहेको बताए । उनले भ्रष्टाचार , अनियमितता र शक्ति दुरुपयोगमा रहेका कसैलाई पनि नछाड्ने चेतावनी पनि दिएका छन् ।

Facebook Comments Box