दमक/ दमकका उद्योगी व्यवसायीहरुको साझा संस्था दमक उद्योग वाणिज्य संघले शुक्रबार राष्ट्रसेवक तीन जना कर्मचारीलाई स्वागत गर्नुका साथै भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
कमल ५ लखनपुरस्थित सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेश उप्रेती, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजाल र अर्का कर अधिकृत ज्ञानेन्द्र यादवलाई स्वागत गर्नुका साथै कर अधिकृत लक्ष्मण कार्कीको फेरी भेटौंलासहित सो कार्यक्रम गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठ, संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल), संघका लेखा संयोजक नेत्र चम्लागाइँ र सल्लाहकार समेत रहेका दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि न्यौपाने केसीले सशस्त्र प्रहरीका वरिष्ठ उपरीषक उप्रेती र आन्तरिक राजश्व कार्यालयका प्रमुख रिजाल र कर अधिकृत यादवलाई औपचारिक रुपमा स्वागत गरेका थिए ।

उनीहरुले सो अवसरमा व्यवसायीहरुसँग प्रत्यक्ष सरोकार राख्ने निकायका प्रमुख राष्ट्रसेवकहरुबाट व्यवसायीहरुले समाधानमुखी सेवाको अपेक्षा राखेको उल्लेख गर्दै कार्यकाल सफलताको शुभकामना दिए । सो अवसरमा एसएसपी उप्रेती र रिजालले यस क्षेत्रसँग आफ्नो पुरानो सम्बन्ध समेत रहेकाले कार्य सम्पादनमा सकारात्मक सहयोग रहने अपेक्षा सुनाए ।
कार्यक्रममा दमक उवासंघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारीका अतिरिक्त संघका कार्यसमिति सदस्यहरु हेमसागर अधिकारी, टिकाराम खतिवडा , कमल कटुवाल, बस्तुगत संघका प्रतिनिधिहरु राम रिमाल, कृष्ण अधिकारी लगायतले सुझावसहित शुभकामना राखेका थिए ।