दमक/ नेपालको संविधान २०७२ जारी भएको ऐतिहासिक दिनका रुपमा मनाइँदै आएको संविधान दिवस तथा राष्ट्रिय दिवस झापाको दमकमा सत्तारुढ दल नेकपा एमालेले एकसाथ सबै वडामा सरसफाई कार्यक्रम गरेर मनाएको छ ।
नेकपा एमाले दमक नगर कमिटीको निर्णय अनुसार बिहिबार बिहान दमकका दुई वटा सबै वडाले आआफ्नै वडा अन्तर्गतका विभिन्न स्थानमा सरसफाई कार्यक्रम गरेका थिए । यतिबेला दमकसहित विभिन्न ठाउँमा डेंगी संक्रमण बढेको र चाडपर्वहरु नजिकै आइरहेकाले सफा र स्वच्छ वातावरण निर्माणमा योगदान गर्ने उद्धेश्यले वडा वडामा एकसाथ सरसफाई कार्यक्रम राखिएको पार्टीका नगर कमिटी अध्यक्ष राम पौडेलले जानकारी दिए ।

पौडेलले यसअघि पार्टी दमक नगर कमिटीले वडा तहमानै संविधान दिवसका अवसरमा कार्यक्रमहरु गर्ने निर्णय गरेको र सोको कार्यान्वयनमा वडा कमिटीहरुले सक्रियतापूवर्क भुमिका निर्वाह गरेको बताए ।
उनका अनुसार पार्टीका सबै वडा कमिटीले पार्टीका स्थानीय नेता, कार्यकर्ताहरु र सर्वसाधारणको सहभागितामा सरसफाई कार्यक्रम गरेका थिए । एमाले र कांग्रेसका दमक १, ६ र ७ नम्बर वडा कमिटीले भने संयुक्त रुपमा फाल्गुनन्द चोकमा दिप प्रज्वलन गरेर यो दिवस मनाएका छन् ।


साँझ पख नेकपा एमाले र नेपाली कांग्रेसको स्थानीय नेतृत्वको संयुक्त आयोजनामा भएको दिपप्रज्वलनका क्रममा नेकपा एमाले झापाका इञ्चार्ज एवं पूर्व नगर प्रमुख रोमनाथ ओली र नेपाली कांग्रेसकी महासमिति सदस्य समेत रहेकी दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना दिँदै वक्ताद्धयले संविधान जारी गर्नमा नेतृत्वदायी भुमिका निर्वाह गरेका दलहरु संविधानको सफल कार्यान्वयनमा पनि इमान्दारपूर्वक लाग्नुको बिकल्प नरहेको बताए । वर्तमान संविधानले आम नागरिकका हक अधिकारहरु सुनिश्चित गरेको र लामो प्रयत्नपछि जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनलेनै मुलुकमा राजनीतिक स्थायीत्व र समृद्ध मुलुक निर्माणलाई अघि बढाउन सक्ने वक्ताहरुको धारणा थियो ।