दमक/ झापाको कन्काई नगरपालिका वडा नं ६ सहित देशभर स्थानीय तहका ३९ पदमा यही मसिंर १६ गते उपचुनाव हुने भएको छ ।
सरकारले आईतबार आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेसँगै झापामा रिक्त रहेका ६ पद मध्ये कन्काईको ६ नम्बर वडामा उपचुनाव हुने भएको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति तय गरेको हो ।
आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गर्छ । सोही बमोजिम मन्त्रिपरिषद्ले स्थानीय तहको उपनिर्वाचनबारे निर्णय गरेको हो । हाल कन्काईको ६ नम्बर वडाको वडाध्यक्ष पदसहित देशभर ३ पालिकाका प्रमुखसँगै कूल ३९ पद रिक्त छ ।
कनकाई नगरपालिका ६ का वडा अध्यक्ष दिर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असार २ गते निधन भएपछि रिक्त वडा अध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो । थापाको निधनपछि वडा सदस्य अर्जुन राजवंशीले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बनमा परेपछि उनको पद रिक्त छ । गत वर्षको असारको अन्तिम तिर झापा गाउँपालिकाका अध्यक्ष साह निलम्बनमा परे पनि उपाध्यक्ष अन्जुदेवी थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । विशेष अदालतले अध्यक्ष साह विरुद्ध दायर गरेको मुद्धाका विरुद्ध साहले सर्वाेच्चमा मुद्दा हालेका र सो मुद्धा विचाराधिन रहेकाले तत्काल सो पदमा उपचुनाव हुने अवस्था नआएको हो ।
त्यस्तै बिर्तामोड नगरपालिकाका तीन जना जनप्रतिनिधि वैदेशिक रोजगारीमा गएका छन् । बिर्तामोड १० का वडा सदस्य पंचधन राई , बिर्तामोड ६ की दलित महिला सदस्य शोभा विक र बिर्तामोड ९ का वडा सदस्य चन्द्र दंगाल वैदेशिक रोजगारीमा गएका बताइएको छ ।

 

Facebook Comments Box