दमक/ झापाकै पुराना बजारहरु मध्येको एक शिवसताक्षी ६ स्थित शिवगञ्ज बजारमा शिवगञ्ज उद्यमी महिला समुहले उद्यम सञ्चालन गरेको छ ।
वडाले स्थानीय महिलाहरुलाई उद्यमी बनाएर आय आर्जनमा जोड्ने योजनासहित सकारात्मक सहयोग गरेपछि शिवगञ्जका उद्यमी महिलाहरुले व्यवसायिक रूपमा पेन्ट, टिसर्ट, जामा, भोटो, कुर्था सुरुवाल, ब्लाउज लगायतका पहिरन सिलाएका छन् । ति पहिरनको शुक्रबारदेखि बजारमा बिक्री खुल्ला गरिएको छ ।
वडा नम्बर ६ ले वडाका उद्यमी हुन चाहने महिलालाई तालिम र त्यसपछि व्यवसायिक बनाउन सिलाई मेसिन प्रदान गरेपछि महिला उद्यमीहरूले यस्तो उद्यम सञ्चालन गर्ने वातावरण बनेको वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए ।
सो उद्योगको शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्राले उद्घाटन गर्दै उद्यमी महिलाहरुको प्रयासका लागि धन्यवाद व्यक्त गरे ।
वडा अध्यक्ष कार्कीले स्थानीय उत्पादनलाई प्राथमिकता दिन आम वडावासीसँग आग्रह पनि गरेका छन् । नगर प्रमुख थोप्रा, वडाध्यक्ष कार्कीसहित अतिथीहरुले उदघाटनका अवसरमा त्यहाँका पहिरनहरु आवश्यकता अनुसार खरिद गरेर यसको शुभारम्भ गरेका छन् । दशैं तिहार जस्ता चाडपर्व नजिकै आएकाले पनि सर्वसाधारणले स्थानीय महिलाहरुको उद्यमलाई प्रोत्साहित गर्न यसपटकको चाड पर्वमा यहीं उत्पादन गरिएका पहिरन खरिद गर्ने विश्वास उद्यमी महिलाहरुले लिएका छन् ।