विर्तामोड/ झापाको विर्तामोडबाट शनिश्चरे जाने सडकमा पर्ने अर्जुनधारा–६ स्थित महानन्द चोकमा एक युवाले छुरा प्रहार गरेर इलामकी १९ बर्षिया युवतीको हत्या गरेका छन् ।
शुक्रबार साँझ हत्या गरिएकी ति युवती इलाम फिक्कल घर भएकी अन्दाजी १९ वर्षीया मनिषा लोहार भएको बताइएको छ ।
उनलाई छुरा प्रहार गर्ने युवक कैलाली जिल्ला स्थायी ठेगाना भएका अन्दाजी २० वर्षका अनिल विक भएको बुझिएको छ । छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बिएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा शनिबार साँझ ७ बजे मृत्यु भएको हो । उनको शरिरका विभिन्न भागहरु घाँटी, छाती र कोखामा छुराले हानेको पाइएको छ ।
छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए । दुवैजना प्रेमी–प्रेमिका रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।