दमक/ दमक– ६ स्थित नवदुर्गा बहुउद्धेश्यीय सहकारी संस्थाले बुधबार २५ औं वार्षिक साधारण सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष प्रेमकुमार कोइरालाले संस्थाको बार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक कमलराज भटराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सहकारीको बन्दसत्रले सुझावसहित पारित गरेको व्यवस्थापक धनकुमारी पौडेलले जानकारी दिइन् ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको सभाको उद्घाटनको अवसरमा सहकारीका शेयर सदस्यहरु मध्येबाट गत शैक्षिक सत्रमा कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपिए हासिल गर्ने आयुसा निरौला र निरोज तिम्सिनालाई नगद तथा प्रशंसापत्रसहित नवदुर्गा प्रोत्साहन छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरि, उत्कृष्ट कर्मचारीका रुपमा संस्थाका वजार प्रतिनिधि कृष्णप्रसाद खतिवडालाई समेत नगद सहित सम्मानपत्रद्धारा पुरस्कृत गरिएको सञ्चालक समिति सदस्य रत्नबहादुर धिमालले जानकारी दिए ।
सोहि अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु जीवन थापा मगर, इन्द्रमाया कुमाल,पवन शाह,शारदा विश्वकर्मा र धनकुमारी राई लगायतलाई पुरस्कृत गरिएको थियो ।
सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि ढकालसहित दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघका लेखा समिति संयोजक चुडामणी ओझा, मेची बहुउद्देश्यीय सहकारी संस्थाका सचिव राजेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
१ हजार ३ सय ३० जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २ करोड १९ लाख ६७ हजार ९ सय, जगेडा कोषमा २ करोड १५ लाख १३ हजार ८ सय ६७, अन्य कोषमा १ करोड ९४ लाख ८५ हजार ८ सय ७७ रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरि, संस्थाको वासलात २३ करोड ९६ लाख १८ हजार ४ सय ८२ रहेको जनाईएका छ ।