दमक/ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिक साधारण सभा अन्तर्गत इकाइगत साधारण सभा धमाधम सञ्चालन गरिरहेको छ । आर्थिक बर्ष २०८०/०८१ को बार्षिक समिक्षासहित चालू आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रस्तावित नीति कार्यक्रमहरुसहितको प्रतिवेदन वितरण गर्दै सदस्यहरुमाझ इकाइगत साधारण सभा सञ्चालन गरिरहेको हो ।
कन्काईको सुरुङगा, शिवसताक्षीको झिलझिले, मोरङको उर्लाबारी र झापाको गौरादह सेवा केन्द्रमा इकाइगत रुपमा सदस्यहरुमाझ साधारण सभा सञ्चालन गर्दैै भाद्र २७ गते दमकमा साधारण सभाको माइन्यूट प्रमाणिकरणसहित सम्मान तथा पुरस्कार वितरण गरि समापन गरिने संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले जानकारी दिए । यस अघि सम्पन्न गरिएका सबै इकाइगत साधारण सभाहरुमा संस्थाका सदस्यहरु उल्लेखिय रुपमा सहभागी भएका थिए । सबै सेवा केन्द्रहरुमा अलग अलग कार्यक्रम गरि संस्थाका सञ्चालक समिति, उपसमिति, सेवा केन्द्र सञ्चालन समितिहरु र कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
कस्मिक पार्टी प्यालेसमा बिहिबार हुने समापन कार्यक्रममा सदा बर्षझैं यस बर्ष पनि उत्कृष्ट कर्मचारीहरुलाई विभिन्न बिधामा पुरस्कृत गरिने जनाइएको छ ।
संस्थाले यस बर्ष सहकारी सञ्चारकर्मीका रुपमा पत्रकार बिष्णु पोखरेललाई सम्मान गर्ने जनाइएको छ ।
संस्थामा गत असार मसान्त सम्ममा ११ करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको साथै जगेडा तथा कोषहरुमा ९ करोड, २२ लाख २३ हजार २ सय ९८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सो संस्थामा गत आर्थिक बर्ष सम्ममा सदस्य संख्या ९ हजार ६ सय २१ जना रहेकोमा चालू आर्थिक बर्षमा ५ हजार सदस्य संख्या थप गरि १४ हजार ६ सय पुर्याउने लगातार तीन वटा साधारण सभा सम्म अनुपस्थित हुने सदस्यलाई निष्क्रिय सदस्यको सूचीमा राखिने नीति लिइएको संस्थाका अध्यक्ष बुद्धिसागर बरालले जानकारी दिए ।