दमक / झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा अन्तर्गत तेश्रो ईकाइगत साधारणसभा मंगलबार दमकमा सम्पन्न भएको छ । साधारण सभामा दमक ईकाइ अन्तर्गतका ५ वटा सेवा केन्द्रहरुबाट उत्साहजनक रुपमा सयौंका संख्यामा सदस्यहरु सहभागी भएका छन् ।
साधारणसभामा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष सुवास भट्टराईले ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५ सय ८३ रुपैया ४ पैसा बराबरको बासलात तथा आ.व. २०८१÷०८२ का लागि ११ अर्ब ७७ करोड ८६ लाख ४८ हजार १ सय ३६ रुपैया १० पैसा बराबरको अनुमानित बजेट सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सभामा कार्यक्रमको औचित्यसहित संस्थाले लिएका नीतिहरुका बारेमा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले थप प्रकाश पारेका थिए । साथै ईकाइबाट उत्कृष्ट कारोबार गर्दै संस्थागत प्रतिफलमा विशेष योगदान पुर्याउने ३ जना शेयर सदस्यहरु चन्द्र सापकोटा, मनोज राई र देवीमाया ओलीलाई जनही रु ५०००।– सहित सम्मान पत्रद्वारा सम्मान गरिएको संस्थाका सञ्चालक नविन योगीले जानकारी दिए ।

त्यसैगरी संस्थाले सदस्यहरुका लागि प्रदान गर्दै आएको उपचार वापतको राहत रकम ९ जनालाई हस्तान्तरण गरियो । त्यस किसिमको राहत रकम पाउनेमा मञ्जु थापा, सारदा बस्नेत, सुरज संग्रौला, रिताकुमारी अधिकारी, सन्ध्या धिमाल, मिना न्यौपाने, जानुका खड्का हिमकुमार गुरुङ र रामु सोरेन रहेका संस्थाले जनाएको छ । उनीहरुलाई संस्थाको सदस्य भइ सदस्य सुरक्षण कोष वापत संस्थाको नियमानुसार बिरामको प्रकृति अनुसार राहत रकम प्रदान गरिएको हो ।
दमक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारण सभाका वक्ताहरुले सहकारीको क्षेत्रका लागि तोकिएका सबै सुचकहरु राम्रो अवस्थामा रहेको सिम्रिक साकोससँगको कारोबारमा विश्वसनियताको आधार देखिएको उल्लेख गरे । प्रमुख अतिथी भट्टराईले सहकारीको नीति नियम र शेयर सदस्यहरुको भावना अनुसार चलेको सहकारीले सफलता पाउनेमा दुईमत नरहेको बताए ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले कारोबारमा विश्वसनियताका आधारहरु रहेको र संस्थाले वित्तीय कारोबारलाई मात्रै नभएर व्यवसायी तथा संस्थाका सदस्यहरुको सेवालाई पनि प्राथमिकतामा राख्नु पर्ने सुझाए ।
