दमक/ नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव स्व. वीपी कोइरालाको १११ औं जन्मजयन्तीका अवसर पारेर कांग्रेस झापा क्षेत्र नं ५ ले आइतबार उनको सम्झना गर्दै अन्तरक्रियात्मक बैठक गरेको छ ।
कमल गाउँपालिका –५ मंगलवारे स्थित रेडक्रस सभाहलमा कांग्रेस झापा क्षेत्र नं ५ ले अन्तरकृयात्मक बैठक सम्पन्न गरेको हो । त्यस्तै कांग्रेस दमक –५ वडाले टोल बिकास संस्थालाई वडाको सौन्दर्यकरणका लागि फूलसहितको गमला प्रदान गरेको छ ।
पार्टी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यमा भएको अन्तरकृयात्मक बैठकमा सहभागीहरुले पार्टीले सञ्चालन गरेको क्रियाशील सदस्यता नविकरण तथा पार्टी संगठन सुढृढिकरण तथा शुद्धिकरणका विषयमा आ–आफना विचार राखेका थिए ।
बैठकमा क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले क्षेत्र भरि जारी रहेको क्रियाशील नविकरण कार्य भदौ २५ भित्र सम्पन्न गर्नु पर्ने तथा जिल्ला तथा क्षेत्रबाट भईरहेका कार्यसम्पादनका विषयमा जानकारी गराएका थिए ।
बैठकमा कांग्रेस कोशी प्रदेश सदस्य समेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, कोशी प्रदेश सदस्य भूमि राई, कांग्रेस कमलका सभापति खगेन भण्डारी, गौरादहका सभापति गोपाल कोइराला लगायतले पार्टी क्रियाशील सदस्यता नविकरणको अवस्था र आइपरेका जटिलताहरुबारे जानकारीसहित आफ्नो धारणा राखेका थिए ।
सो बैठकमा कांग्रेस क्षेत्र,प्रदेश ,जिल्ला कार्यसमितिका सदस्यहरु लगायतका अगुवा पार्टी ,कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यता,दमक –५ स्थित कांग्रेस वडा समितिले त्यहाँका टोल विकास संस्थालाई फूलसहितको गमला हस्तान्तरण गरिएको वडासभापति चैतन्य बरालले जानकारी दिए ।
विपी जन्मजयन्तीको उपलक्ष्यमा नेपाल तरुण दल गौरादहले भदौ २४ गते खुल्ला रक्तदान कार्यक्रम राखेको छ । नेपाल तरुण दलसहित नेपाली कांग्रेस वडा समिति –६ ले दामुना बजारमा खुला रक्तदान कार्यक्रम राखिएको जनाएको छ ।