कमल/ झापाको कमल गाउँपालिका –५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ३१ भाद्रमा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा अध्यक्षका पाँचसहित ४६ जना उम्मेद्वार चुनावी मैदानमा होमिएका छन् ।
निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार भएको मनोनयन दर्ताका क्रममा ति उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका हुन् ।
जस अनुसार अध्यक्षमा एकका लागि खेमराज गुरागाइँ, डम्बर बहादुर निरौला, कृष्णबहादुर भण्डारी , उषा भण्डारी र राजकुमार न्यौपाने (राजु) समेत पाँच जनाको उम्मेद्वारी परेको छ । त्यसैगरी उपाध्यक्ष एकका लागि चार जनाको उम्मेद्वारी छ । जसमा गंगाप्रसाद पाण्डे, प्रमोदकुमार दाहाल, विनोद खरेल र दिनेश अधिकारी रहेका छन् । सचिव एक पदका लागि तीन जनाको उम्मेद्वारी छ । जस अनुसार हरिप्रसाद घिमिरे, यामप्रकाश सुब्बा (सम्हाम्फे) र निधिरत्न अधिकारीले सचिव पदमा उम्मेद्वारी दिएका छन् भने सहसचिव एकका लागि तीन धनकुमारी राई, गोमा तिवारी र बिमलादेवी भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् ।
लेखा समिति संयोजकमा पशुपतिकुमार धिताल, युवराज कार्की र धर्मानन्द भट्टराईको उम्मेद्वारी छ । दुई जना लेखा सदस्यका लागि पाँच जनाको उम्मेद्वारी रहेको जनाइएको छ ।
कमलको वडा न. ५,६ र ७ (साविक लखनपुर ) र साविक तोपगाछी ४ का केहि उपभोक्ता गरि ४ हजार ९ सय घरधुरीसम्म खानेपानी वितरण हुदै आएको छ ।
जसअनुसार क्षेत्र न. १ मा ७५९ ,क्षेत्र न. २ मा ७६०, क्षेत्रन. ३ मा १९२ , क्षेत्र न ४ मा १०५० र क्षेत्र न. ५ मा ८०४ र संघसंस्थातर्फ ४२ जना मतदाताका रुपमा रहेको निर्वाचन समितिले जनाएको छ । खानेपानीको कुल मतदाता योग्य उपभोक्ताको संख्या भने ३ हजार ६ सय ११ रहेको छ । संस्थाको कार्यसमितिमा हरेक क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि (सदस्य) समेत निर्वाचित हुने भएकाले सोही अनुसार सबै क्षेत्रमा उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा भएकाले निर्वाचनको मिति नजिकिएसंगै चुनावी गतिविधि तिब्र भइरहेको छ ।
निर्वाचनमा खानेपानीका बहालवाला नेतृत्वदेखि नयाँ अनुहार समेत उम्मेद्वारका रुपमा उभिएका छन् । कसैले खानेपानी जस्तो अति महत्वपूर्ण र संवेदनशील संस्थामा अनुभवी नेतृत्वको खाँचो भएको बताइरहेका छन भने कसैले एकै व्यक्तिलाई यस किसिमका संस्थामा लगातार बर्षौसम्म नेतृत्वको अवसरले त्यहाँ भित्र अनियमितता, अराजकता र अपारदर्शीता मौलाएर जाने तर्क गरिरहेका छन् । खानेपानीका आम उपभोक्ता मतदाताहरुले भने कसलाई नेतृत्व सुम्पने हुन ? त्यो भने हेर्न बाँकी छ ।