दमक / झापाको दमक ८ मा मुख्य कार्यालय सञ्चालन गर्दै झापा, मोरङका आधा दर्जन सेवा केन्द्रहरु मार्फत वित्तीय कारोबार गर्दै आएको कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा शुरु भएको छ ।
संस्थाले इकाइगत रुपमा साधारण सभा गर्ने योजनासहित दमकको मुख्य कार्यालयबाट साधारण सभाको शुरुवात गरेको हो ।
आइतबार संस्थाको आफ्नै सभाकक्षमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै इकाइगत साधारण सभा शुरु गरेको संस्थाका व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिए ।
संस्थाका पूर्व अध्यक्ष समेत रहेका कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यमा बार्षिक प्रतिवेदन सार्वजनिकीकरण गर्दै सभाको शुरुवात गरिएको छ । सो अवसरमा प्रदेश सभा सदस्य थापाले वित्तीय संस्थाहरुमाझ अलग पहिचान बनाउन सफल कञ्चनजंघा सहकारीलाई थप उचाईमा पुरयाउन संस्थाका सदस्यहरु, कर्मचारी र सञ्चालक समिति एकताबद्ध भएर योगदान दिनुपर्ने सुझाए । उनले सरकारले कृषि तथा अन्य उद्यममा दिने अनुदान प्रभावकारी र लक्षित वर्गसम्म पुरयाउने नीति लिएको जानकारी गराए । उनले सहकारीले पैसाको किनबेच अर्थात बचत तथा ऋणको मात्रै कारोबार गर्ने नभई बढी भन्दा बढी सदस्यलाई लाभ दिने र उद्यमका माध्यमबाट उत्पादनमा सहयोग पुरयाउनु पर्ने औंल्याए ।

संस्थाका अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष भरतकुमार चम्लागाइँले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा अध्यक्ष भण्डारीले संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेखित गत आर्थिक बर्षको समिक्षा र आगामी नीति, योजना र कार्यक्रमहरुका बारेमा संक्षेपमा प्रस्तुत गरेका थिए ।
संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक गंगाप्रसाद संग्रौलाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । सो सहकारीले १६ भाद्रदेखि शुरु गरेको इकाइगत साधारण सभा १७ गते डुँडामारी र कन्काई, १८ गते पथरी शनिश्चरे र मिक्लाजुङ, २२ गते गौरादह र २४ गते उर्लाबारी सेवा कार्यालयमा सञ्चालन गरेर आगामी २९ भाद्रमा दमकमानै माइन्यूट प्रमाणिकरणसहित साधारण सभा सम्पन्न गर्ने कार्यक्रम तय भएको संस्थाका व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिए ।