दमक/ झापाको दमकमा शुक्रबार पहिलो पाइला नेपाल दमक शाखाले भोकाएका असहाय नागरिकहरुलाई दर खुवाउने कार्यक्रम गरेको छ ।
संस्थाले असहायहरुलाई दिवाकालिन खानाका रुपमा सामुहिक दर खुवाउने कार्यक्रम गरेको संस्थाका उपाध्यक्ष लवराज खड्काले जानकारी दिए । संस्थाका सदस्यहरुले तिजमा गरिने फजुल खर्च कटौती गर्दै असहायहरुलाई दर खुवाएका हुन् ।
दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलको प्रमुख आतिथ्य र पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष पौडेलले समाजमा निस्वार्थ सेवाको भावना मर्दै गएको अवस्थामा पहिलो पाइला नेपालमा आवद्ध युवाहरुले भोकाएका मानिसलाई पर्व मनाउने अवसर जुराएकोमा प्रशंसा व्यक्त गरे ।
उनले राजनीतिक, सामाजिक क्षेत्रमा इमान्दारिताको अभाव खडकिरहेकोप्रति आफू चिन्तित रहेको भन्दै राजनीतिक र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवाको क्षेत्रमा गरिने काममा आफ्नो तर्फबाट जहिलेसुकै सहयोगको हात अघि बढाउन इच्छुक रहेको पनि बताए ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, महांकाल युवा समुहका दिपक खड्का, आयोजक संस्थाका पूर्व अध्यक्ष दिवस खतिवडा लगायतले पनि सो कार्यको प्रशंसा गरे । सो अवसरमा करिब १५ जनालाई मिष्ठान्न भोजन गराइएको संस्थाले जनाएको छ ।
