धरानमा आज बिहिबार साँझ भएको भारी बर्षाका कारण ड्रेनमा जमेको पानीमा डुबेर एक जना बिद्यार्थीको मृत्यु भएको छ । धरान १७ मा ड्रेनले बगाउँदा १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको धरान–१७ वडा सदस्य मनिष विष्टले जानकारी दिए ।
उनका अनुसार धरान ११ को भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत बालक घर फर्कँदै गर्दा ड्रेनको भेल बाढीले बगाएको हो । बाढीले बगाएका बालकको शव धरान–१७ स्थित फोक्लेन टापुको ठकुरी खोला पुलबाट एक सय मिटर उत्तरतर्फ फेला परेको धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले बताए ।
भारी वर्षाका कारण धरान उपमहानगरपालिका छेउमा रहेको खहरे खोलामा पानीको बहाव बढी भएका कारण उपमहानगरपालिका गेट अगाडीको सडक समेत भासिएको छ भने धरान–१३ का खहरे खोलाहरूमा पानीको बहाव बढी भएर सडकमा ढुङ्गा र गिट्टी थुपारेको छ । निशाने खोला छेउमा पहिरोले गर्दा बाटो थुनिएको छ ।

Facebook Comments Box