दमक/ झापाको कमल ५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धन समुहका साझा उम्मेद्वारहरुको उम्मेद्वारी घोषणा गरिएको छ ।
पाडाजुँगीस्थित रोडस्टार पार्टी प्यालेसमा आयोजित घोषणा सभामा सो समुहका तर्फबाट खानेपानी योजनाका बिषयमा साझा प्रतिबद्धता समेत सार्वजनिक गरिएको छ ।
सो समुहको तर्फबाट अध्यक्षमा राजकुमार न्यौपाने (राजु), उपाध्यक्षमा दिनेश अधिकारी, सचिवमा निधिरत्न अधिकारी र सहसचिवमा बिमला भट्टराईलाई उम्मेद्वारका रुपमा अघि सारिएको छ ।
क्षेत्रगत रुपमा क्षेत्र नं १ (पाडाजुँगी चोक उत्तर गौरीगञ्ज सडक पश्चीमको भागबाट पुण्य खतिवडा र कमला राई (गुरुङ), क्षेत्र नं २ बाट भिष्म सिटौला र लोभिता राई (सविता), क्षेत्र नं ३ बाट खुल्ला सदस्यमा कृष्ण बहादुर पाण्डे , क्षेत्र नं ४ मा प्रेमबहादुर कार्की र सावित्रा दाहाल (उप्रेती) , क्षेत्र नं ५ बाट टंक चम्लागाइँ र नैनकला सेढाइँ र लेखा समिति संयोजकमा धर्मानन्द भट्टराई , तथा सदस्यहरुमा सुरजकुमार कुमाल र मोनिका राईलाई उम्मेद्वार बनाइएको छ ।
नेपाली कांग्रेस कमलका सभापति खगेन भण्डारीको सभापतित्व र कांग्रेस कोशी प्रदेश समिति सदस्य समेत रहेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा आयोजित सो उम्मेद्वारी घोषणा सभामा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चको समेत समर्थनमा साझा उम्मेद्वारका रुपमा ति उम्मेद्वार अघि सारिएको जनाइएको छ ।
घोषणा सभामा कमल ५ का वडाध्यक्ष लालबहादुर विष्ट, कमल १ का वडाध्यक्ष केदार कटुवाल, नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, कोशी प्रदेश समिति सदस्य चन्द्रा खड्का, दमक खानेपानी तथा सरससफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी, नेकपा माओवादी केन्द्रका तर्फबाट गगन पुरी लगायतले पनि उम्मेद्वारहरुलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष राजेन्द्र संग्रौलाले बहुदलीय व्यवस्थामा संस्थाहरुमा दलगत प्रतिनिधित्व पनि निर्वाचनकै माध्यमबाट हुँदै आएको अभ्यास स्मरण गर्दै दलको नेतृत्वमा रहेर दलीय व्यवस्थामा दलको बिकल्प खोज्न नसकिने उल्लेख गरे । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुको जित सुनिश्चित रहेको पनि बताए ।
कार्यक्रमको सञ्चालन गठबन्धन दलका नेता समेत रहेका माओवादी केन्द्रका रविन गुरुङले गरेका थिए ।

लखनपुर खानेपानीको चुनावी साधारण सभा पहिलो पटक शुरु भई बन्द सत्रमा गणपुरक संख्या उपस्थित नरहेका कारण ६ भाद्रमा स्थगित छ भने दोश्रो पटकका लागि यही भाद्र १३ गते बोलाइएको छ । सो सभाले आगामी निर्वाचनको मिति टुंगो लगाउने बताइएको छ ।
