चुलाचुली / इलामको चुलाचुली गाउँपालिकामा पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । सो पालिका अन्तर्गतका ६ वडामध्ये वडा नम्बर ३ लाई पालिकाको पहिलो ‘बालमैत्री वडा’ घोषणा गरिएको हो ।
आज मंगलबार वडा कार्यालयमा आयोजित औपचारिक कार्यक्रमकाबीच प्रमुख अतिथी जिल्ला समन्वय समिति इलामका संयोजक जयप्रकाश राई र गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले ३ नम्बर वडाध्यक्ष प्रेमकुमार श्रेष्ठलाई बालमैत्री वडा घोषणाको प्रमाण पत्र हस्तान्तरण गरे ।
वडाले बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार तोकिएका ५१ वटा सुचकहरुको पालना गर्दै सो वडा बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।
घोषणा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै वडाध्यक्ष श्रेष्ठले बालमैत्री बनाउनका लागि यस अघि देखिनै सूचकहरूको स्थानीयकरण गर्दै बालमैत्री आचारसंहितालाई अबलम्बन गरिएको जानकारी दिइयो ।
कार्यक्रममा प्रमुख अतिथी राईले बालबालिकाहरुको भविष्य उज्यालो भए मात्रै मुलुकको भविष्य उज्यालो हुने र समृद्धीको सपना पुरा हुने उल्लेख गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बालमैत्री घोषणालाई दिगोपन दिन सक्नु ठूलो चुनौती रहेको बताए ।
अध्यक्ष केरुङले अन्य वडाहरुलाई पनि बालमैत्री घोषणा गर्दै पुरै पालिकालाई बालमैत्री घोषणा गर्ने गाउँपालिकाको तयारी रहेको बताए ।
बालबालिकामा अन्तर्निहित प्रतिभाको प्रष्फुटन गर्नु सरकार र सिंगो समाजको दायित्व हुने भन्दै अध्यक्ष केरुङले बालमैत्री वडा कार्यान्वयन भए नभएको निरन्तर अनुगमन गरिने बताए ।

चुलाचुली गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेत बालबालिकाका सवालहरुलाई प्रमुख रुपमा उठाउँदै आएको अध्यक्ष केरुङको भनाई छ ।
चुलाचुली गाउँपालिकाको कार्यपालिकाको वैठकवाट यस गाउँपालिकाको वडा नं.३ र ५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडाको रुपमा २०८१ को जेठ मसान्त सम्ममा घोषणा गर्ने निर्णय भए पनि प्राविधिक तयारीका कारण भदौको पहिलो साता सम्म लागेको गाउँपालिकाको महिला बालबालिका शाखाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिल कुमारी लिम्बुले चुलाचुलीका लागि ३ नम्बर वडाको यो घोषणाले ऐतिहासिक महत्व राख्ने बताइन् ।
यसको कार्यान्वयन समाजका सबै पक्ष लाग्नुपर्ने उनले बताइन् । बालबालिकालाई सुहउँदो र उचित वातावरण दिन सकेन भने बालबालिका नराम्रोतिर लम्कने भएकोले घरबाटै राम्रो वातावरण बनाउनु पर्ने उनको भनाई थियो ।
घोषणा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, जिल्ला समन्वय समिति इलामका अधिकृत कृष्णबहादुर कार्की, वडाध्यक्षहरु लक्ष्मण श्रेष्ठ, बबिनकुमार राई लगायत जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, वडास्थित शैक्षिक संस्था, टोल बिकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उल्लेखिय सहभागिता थियो ।

बालमैत्री स्थानीय शासन वडा समिति, बाल अधिकार समिति, बालमैत्री कक्ष स्थापना तथा फोकल पर्सनको चयन, टोल तथा समुदायस्तरीय सामाजिक परिचालन अभियान सुरुवात गर्नका लागि टोल तथा समुदायस्तरीय समिति गठन जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको ३ नम्बर वडा सचिव उत्सव कट्टेलले जानकारी दिए ।

Facebook Comments Box