दमक/ नेकपा (एकीकृत समाजवादी) झापाले दमक क्षेत्रका सो पार्टी सम्बद्ध चार जना नेताहरुलाई पार्टी साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको जनाएको छ ।
पार्टीको झापा जिल्ला कमिटीका तर्फबाट अध्यक्ष बेदराज रेग्मीले पार्टीका पूर्व केन्द्रिय परिषद सदस्यद्धय राजेन्द्र दाहाल र मणीकुमार भण्डारी तथा निवर्तमान दमक नगर कमिटी अध्यक्ष रोशन भण्डारी र पूर्व अध्यक्ष महेश घिमिरेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको जानकारी दिए ।
अध्यक्ष रेग्मीले सोमबार (आज) हस्ताक्षर गरेर जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेखित जिम्मेवार नेताहरु पछिल्लो समय पार्टीका गतिबिधिहरुमा सहभागिता नजनाई पार्टी हित विपरित गतिबिधिहरुमा संलग्न रहेको बिषयमा पार्टी भित्र गम्भिर समिक्षा भएको समेत उल्लेख छ ।
एकीकृत समाजवादी पार्टीबाट निष्काशनमा परेका नेताहरु केही आफ्ना परिवारका सदस्यहरु तथा शुभेच्छुक कार्यकर्ताहरुसहित भोली (मंगलबार) दमकमा एक औपचारिक कार्यक्रमबीच नेकपा एमालेमा प्रवेश गर्ने चर्चा भइरहेका बेला नेकपा एकीकृत समाजवादीको जिल्ला नेतृत्वले त्यस्तो कदम चालेको हो । सो पार्टीको दमक नगर कमिटी भने हालै पुराना कम्युनिष्ट नेता हरिप्रसाद नेपालका अध्यक्षतामा पुनर्गठन भएको समाचार बाहिर आएको थियो ।