विश्व आदिवासी दिवसको अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारको मन्त्रीपरिषदको बिहिबारको निर्णय अनुसार ३० औं विश्व आदिवासी दिवस प्रदेश भर उत्सवका रुपमा मनाउन प्रदेश भित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।
मुख्यमन्त्रीको कार्यालयले बिहिबार अपरान्ह सो ब्यहोराको सूचना सार्वजनिक गरेको हो । झापा, मोरङका कतिपय स्थानीय तह अर्थात स्थानीय सरकारहरुले पनि त्यसअघि सार्वजनिक सूचना निकालेर आआफनो स्थानीय तहमा स्थानीय बिदा दिइएको सार्वजनिक गरेका थिए ।
सार्वजनिक बिदा प्रदेश सरकारले दिए पनि भोली (शुक्रबार) हुने एसइइको ग्रेड बृद्धि परीक्षा भने नरोकिने जनाइएको छ । एसइइ परीक्षाको सञ्चालन राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ ।