दमक/ सहकारीहरुमाथीको नियमन कम्जोर भएको गुनासो आइरहेका बेला झापाको दमक नगरपालिकाले नगरमा सञ्चालित सहकारी संस्थाहरुमा रहेको वित्तीय विवरण पठाउन संस्थाहरुलाई निर्देशन गरेको छ ।
नगरपालिकाले यसअघि माग गरिएको विवरण सबै सहकारी संस्थाहरुले नपठाएको उल्लेख गर्दै श्रावण २५ गते भित्र त्यस्तो विवरण पठाउन कडाइँसाथ निर्देशन गरेको हो ।
स्थानीय सरकारका सहकारी रजिष्टार यज्ञराज निरौलाले श्रावण १५ गते जारी गरिएको सर्कुलर अनुसार विवरण नपठाएका संस्थाहरुलाई २५ गते भित्र अनिवार्य रुपमा विवरण पठाउन सार्वजनिक सूचना गरिएको जानकारी दिए । मागिएको विवरण नपठाउने सहकारी संस्थाहरुलाई दमक सहकारी ऐन २०७५ को दफा १०१ को उपदफा २ बमोजिम जरिवाना गर्ने पनि पछिल्लो सूचनामा चेतावनी दिइएको छ ।
नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाहरुलाई आआफ्नो संस्थामा रहेको सदस्यहरुको कूल संख्या, संस्थामा बचत गर्ने सदस्यहरुको संख्या, सदस्यहरुको कूल बचत रकम, ऋणी सदस्य संख्या, संस्थाबाट कर्जा प्रवाह भएको रकम (ऋण लगानी) , भाखा नाघेको ऋण रकम र ऋणीको संख्या, दोहोरो सदस्य भए/ नभएको र भएको भए त्यस्तो सदस्य संख्या, एकाघरको दुई वा सो भन्दा बढी सदस्य सञ्चालक रहे नरहेको र कर्मचारीहरुको संख्या (महिला/पुरुष) लगायतको विवरण माग गरेको हो ।
दमक नगरपालिका कोशी प्रदेशमै धेरै सहकारी संस्थाहरु भएका नगरहरु मध्येको एक हो । यहाँ एक सय हाराहारीमा सहकारी संस्थाहरु छन् । यहाँका सहकारी संस्थाहरुले आफ्नो कार्यक्षेत्र जिल्ला बाहिर समेत बनाएका कारण ति संस्थाहरुको नियमन प्रदेश सरकार र संघीय सरकारले गर्ने व्यवस्था छ । नगर भित्र मात्रै कार्यक्षेत्र भएका संस्थाहरुको नियमन स्थानीय सरकारले गर्ने अधिकार छ । नगरमा सहकारी ऐन २०७५ जारी भइसके पनि यसको कडाइँसाथ कार्यन्वयन नहुँदा र अन्यत्र दर्ता भई दमक समेत कार्यक्षेत्र बनाएर आएका सहकारी संस्थाहरुमा दमक नगरबासी हजारौंले कारोबार गर्ने गरेका छन् ।
सहकारी संस्थाहरुमाथि समयमै नियमन र निगरानी नहुँदा यसअघि विराटनगरमा दर्ता भई दमकमा समेत कारोबार गरेको तुलसी बहुमुखी सहकारीमा बचत रकम जम्मा गरेका नगरबासीको करोडौं रुपैयाँ डुबेको छ ।
सानो पुँजी भएका सर्वसाधारणको पुँजी एकीकृत गरेर सहकारीका माध्यमबाट कारोबार गर्दै आर्थिक उपार्जनमा लाग्नु पर्नेमा संस्थाका सदस्यहरु स्वयं कतिपय खराब नियत राखेका संस्थाहरुबाट सजग नहुँदा बेला बेला वित्तीय जोखिममा पर्दै आएका छन् ।
दमकमा धेरै सहकारी संस्थाहरुले बचत रकम फिर्ता पाउन नसकेको गुनासो छ भने संस्थाबाट कर्जा लिएका ऋणी सदस्यहरु संस्थामा वित्तीय जोखिम वा अन्य कारणले अवरोध आएर बन्द भए ऋण तिर्र्नै नपर्ने हो कि भन्ने गलत बुझाईका कारण सहकारी क्षेत्रमा समस्या छ । सहकारी संस्थाका सञ्चालकहरु स्वयंले दमकमा संस्थाको कारोबार अनुसार १० औं लाख र केहीले करोड सम्म कर्जा लिएका छन् । सञ्चालकहरु स्वयं ऋणी भएका कारण पनि संस्था सञ्चालनमा कर्मचारीहरुले भने जटिलता ब्यहोर्दै आएका छन् ।
कर्मचारी र सञ्चालकहरुको गैह्र जिम्मेवारी र नियमनकारी निकायको कमजोर नियमनका कारण पछिल्लो समय आधा दर्जन बढी सहकारी संस्थाहरु अघोषित रुपमा बन्दनै भएका छन् । ति संस्थाले कारोबार बन्द रहेको औपचारिक सूचना भने कहिं कतै गरेका छैनन । कतिपय साना–ठुला सहकारी संस्थाहरु एकापसमा मर्ज समेत भएर एकीकृत कारोबार गरिआएका छन् ।