दमक/  सन् २०२४ को दोश्रो चरणमा सञ्चालित कोरियन भाषा सम्बन्धिको लिखित परीक्षामा उत्तीर्ण बिद्यार्थीहरुका लागि दमक कान्तिपुर फाउण्डेशनले अभिमुखीकरण सञ्चालन गरेको छ ।
गएको असारमा लिइएको भाषा परीक्षामा उत्तीर्ण बिद्यार्थीहरुलाई अब हुने सीप परिक्षण ( स्कील टेस्ट) परीक्षा उत्तीर्ण गराउन सहयोग पुरयाउने उद्धेश्यले सो अभिमुखिकरण सञ्चालन गरिएको हो ।

मंगलबार दमक ५ गोर्खाली टोलस्थित फाउण्डेशनको सभहलमा आयोजित कार्यक्रममा फाउण्डेशनका अध्यक्ष समेत रहेका कोरियन भाषा प्रशिक्षक राम पौडेलसहित सञ्चालकहरु र भाषा प्रशिक्षकहरुले उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई शुभकामनासँगै आवश्यक सहजीकरण गरेका थिए । दमक कान्तिपुर फाउण्डेशनका दोश्रो चरणको परीक्षामा सहभागी १०९ जना बिद्यार्थी उत्तीर्ण भएका फाउडेशनका प्रिन्सिपल अनिष चापागाइँले जानकारी दिए ।

एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा हालसालै सार्वजजिक गरेको थियो । २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन भएको परीक्षामा आठ हजार ९६५ जना पास भएका छन् । त्यसका लागि ६६ हजार ३२६ जनाले परीक्षा दिएका थिए । तीमध्ये १३.५ प्रतिशत मात्रै पास भएका हुन् ।
परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन भरेका थिए । पास भएकाहरुको सूची एचआरडी कोरियाले वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखालाई पठाएपछि नतिजा सार्वजनिक गर्ने गरेको छ । पास भएका परीक्षार्थीहरुको स्किल टेष्ट र कम्पेटेन्सी टेष्टबारे जानकारी पछि दिइने ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ ।

Facebook Comments Box