दमक/ झापाको दमकमा अबैधानिक रुपमा फर्निचर तथा फर्निसिङ व्यवसाय सञ्चालन गरिँदा बैधानिक रुपमा सञ्चालित उद्योगहरु मर्कामा परिरहेको र यसले व्यवसायीक क्षेत्रनै बदनाम गराइरहेको भन्दै व्यवसायीहरुले यसलाई रोक्ने प्रतिबद्धता जनाएका छन् ।
लामो समयदेखि कतिपयले व्यवसायिक फर्मका रुपमा मात्रै दर्ता गरेर नियमानुसार उद्योगमा दर्ता नगरी फर्निचर तथा फर्निसिङ व्यवसाय सञ्चालन गरिरहेका पाइएपछि उद्योगी व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायीहरुको बस्तुगत संघका पदाधिकारी एवं नेतृत्वपक्तिंहरुबीच गहन छलफलपछि त्यस्तो प्रतिबद्धता जनाइएको हो ।
संघको कार्यालयमा आयोजित सो छलफलमा फर्निचर तथा फर्निसिङ व्यवसायी संघका तर्फबाट अध्यक्ष युवराज पाठक, उपाध्यक्ष बिन्दु सिटौला (लक्की) सहित व्यवसायी प्रतिनिधिहरु र संघका तर्फबाट अध्यक्ष गोपाल गुरागाइँ, वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, संघका कार्यालय प्रमुख निरज बिष्ट लगायत सहभागी थिए । सो अवसरमा यसअघि प्रकृया नपुर्याई फर्निचर तथा फर्निसिङ सम्बन्धि व्यवसाय गरिरहेका केही प्रतिनिधि व्यवसायीहरुले तत्काल कानुनी प्रकृया पुरा गरेर र करको दायरा भित्र रहेर व्यवसायिक आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।