दमक/ झापाको शिवसताक्षी नगरपालिका वडा नं.९ मिलन चोकमा पुर्व पश्चिम राजमार्गको उत्तर तर्फ रहेको रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा नक्कली सुनको कारोबार गर्दै गरेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरी ठगी मुद्धा चलाएको छ ।
प्रहरीका अनुसार ताप्लेजुङ साविक तेल्लोक गा.बि.स.वडा नं.७ हाल सिरीजङघा गाँउपालिका वडा नं.४ घर भई झापा अर्जुनधारा नगरपापालिका वडा नम्बर ११ पुतलीझोडाका ४२ बर्षिय माईला कामी भन्ने पदम बहादुर बिश्वकर्मा र ताप्लेजुङ मैवाखा गाँउपालिका वडा नं. ६ सामतोङका ४१ बर्षिय राम लिम्बु विरुद्ध सो मुद्धा दर्ता गरिएको हो ।
विश्वकर्मा र लिम्बुद्धयले बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारस्थित पाथीभरा ज्वेलर्स संचालन गर्ने मान बहादुर बि.कलाई बिलबिजक नभएको गालेर राखेको ७०० ग्राम सुन जस्तो देखिने धातु बेच्न लागेका थिए ।
सो सुचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक अनिश बुढाथोकी नेतृत्वको टोलीले लिम्बुलाई सोही ठाउँबाट बिहिबार अपरान्ह पक्राउ गरेको थियो ।
लिम्बुले बोकेको झोला भित्र कपडाले बेरेको बाहिरी भाग कालो भएको बिच भागमा काटिएको पहेलो सुन जस्तो देखिने बस्तुको लेप लगाएको १ के.जी १९० ग्राम तौल भएको धातु, फलामको बिड बिनाको एक थान मार्ताेल र बिभिन्न सुनचाँदी पसलका बिल तथा भिजिटिङ कार्डहरु फेला पारेको थियो । सोधपुछका क्रममा विश्वकर्मा भागेर फरार भएको खुलेपछि खोजी गर्ने क्रममा अर्जुनधारा नगरपालिका वडा नं. ११ पतलीझोडामा साढे ९ बजे फेला पारिएको हो । लिम्बु र पक्राउ परेका पदमबहादुरलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अनुसन्धानका क्रममा पक्राउ परेका लिम्बु यसअघि कर्तव्य ज्यान मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरेर कारागारमुक्त भएका पनि पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्ण चन्दले जानकारी दिए ।