काठमाडौ/ काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाका प्रमुख (मेयर)राजकुमार नकर्मीको आज शुक्रबार निधन भएको छ ।
मिर्गौला सम्बन्धि समस्याबाट पीडित नगर प्रमुख नकर्मीको स्वास्थ्यमा थप समस्या आएपछि बिहिबार मात्रै उपचारका लागि वीर अस्पताल काठमाडौंको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारका क्रममा केहीबेर अघि निधन भएको हो । नकर्मी स्थानीय तह निर्वाचन २०७९ मा ९ हजार ४३ मत ल्याएर सो नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी (एमालेका उम्मेदवार केशरत्न बज्राचार्यलाई ३ हजार ५३६ मतान्तरले पराजित गरेका थिए । स्वर्गीय नकर्मी नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका उपसभापति पनि हुन् ।