दमक/ झापा दमक नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख तथा पूर्व प्राध्यापक समेत रहेकी नेकपा एमालेकी केन्द्रिय सदस्य गीताकुमारी पौडेल अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छिन् ।
योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरिएको छ । प्रा.डा. पाल्पाका बासिन्दा हुन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगका उपाध्यक्षसहित समावेशीता र विज्ञताका आधारमा ६ जना सदस्यहरुको नियुक्ती गरेको हो ।
आयोगका अन्य सदस्यहरुमा महोत्तरीका डा. आरपी बिच्छा, डा. रमेश सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका छन् । योजना आयोगमा नियुक्त भएकाहरु मध्ये बिच्छा, टण्डन र अवस्थी नेपाली कांग्रेस निकट हुन् भने अरु नेकपा एमाले निकट हुन् ।
आयोगको सदस्यमा नियुक्त दमककी गीताकुमारी पौडेल अधिकारी साधारण किसान परिवारमा जन्मिएकी हुन् ।
झापाको तत्कालिन कोहबराबाट दमकका मदन अधिकारीसँग दाम्पत्य जिवन शुरु गरेकी उनले आफ्नो घर परिवारको हेरचाहसँगै स्नाकोत्तर तहको अध्ययन पुरा गरेर दमक बहुमुखी क्याम्पसमा अर्थशास्त्र बिषयको प्राध्यापन गर्दै आएकी थिइन् । उनले अहिले सोही बिषयमा एमफिल गरिसकेकी छिन् ।
उनी २०७४ को स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
प्राध्यापन पेशाबाट प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनामा सोझै नगरको उपप्रमुख पदमा निर्वाचन लड्ने अवसर पाएकी अधिकारी लोकप्रिय मतसहित निर्वाचित भएकी थिइन् ।
त्यसबेला उनी नेपाल नगरपालिका संघको राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा समेत बनेकी थिइन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा भने नगर प्रमुख चुनिन नसकेकी अधिकारीलाई यस क्षेत्रको बौद्धिक महिला नेतृको रुपमा हेरिँदै आएको छ । अर्थशास्त्र बिषयकी प्राध्यापक उनी दमक बहुमुखी क्याम्पसमा कार्यरत थिइन् ।
२०४६ सालमा अखिल नेपाल महिला संघको साधरण सदस्यता लिएर राजनीतिमा होमिएकी अधिकारीले शिक्षण पेशा संगसंगै राजनीतिलाई समेत निरन्तरता दिएकी थिइन् ।
उनले २०४७ साल देखि दमक बहुमुखी क्याम्पसमा अध्यापन गराएकी थिइन् । उनी क्याम्पसमा सहप्राध्यापकका रुपमा प्राध्यापन गर्दै आएकी थिईन् ।
क्याम्पस प्रमुख बन्ने लाईनमा रहेकी अधिकारीलाई एमालेले स्थानीय तह निर्वाचन २०७४ मा उपमेयरको उम्मेद्वार बनाएको थियो । उनी दुई कार्यकाल सम्म एमाले निकटको नेपाल बुद्धिजिवी परिषद् झापाको उपाध्यक्ष, दुई कार्यकाल सम्म एमाले दमक नगर समिति सदस्य , अनेमसंघ जिल्ला सल्लाहकार सदस्य, तथा नेपाल प्रगतिशिल प्राध्यापक संगठन दमक बहुमुखी क्याम्पसको इकाई अध्यक्ष समेत भएकी थिइन् ।
योजना आयोग के हो ?
राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योज ना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो ।
यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था गर्ने तथा विनियोजन गर्ने गर्दछ । यसले विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कनको लागि केन्द्रीय निकायको रूपमा पनि कार्य गर्दछ ।
साथै यसले विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्दछ । यसैगरी यसले देशको आर्थिक विकास सम्वद्ध विषयहरूमा विचार आदानप्रदान, वहस, छलफल र अन्तक्रियाका लागि एउटा मञ्चको रूपमा कार्य गर्दछ । यसबाहेक यसले नागरिक समाज, गैरसरकारी संस्थाहरू र निजी क्षेत्रको समस्याहरू विश्लेषण गर्ने र समाधान गर्ने संस्थाको रूपमा समेत सेवा प्रदान गर्दछ ।
प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगको अध्यक्षता गर्ने गर्छन भने आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, विभिन्न विषय क्षेत्र लगायतको प्रतिनिधित्व हुने गरी विज्ञता एवं समावेशी आधारमा छ जना सदस्यहरू रहने गरेका छन् ।
नेपाल निजामती सेवाको विशिष्ट श्रेणीको अधिकृत (सचिव) सदस्य सचिवको रूपमा रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव आयोगको पदेन सदस्यको रूपमा रहने व्यवस्था छ ।
आयोगको भूमिका र कार्य जिम्मेवारीहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा समेत उल्लेख गरिएको छ ।
आयोगले मध्यमकालीन खर्च संरचना, आयोजना बैंक, बजेट सीमा तथा मार्गदर्शन एवं अनुगमन मूल्यांकन सम्बन्धी काम गर्ने उल्लेख छ ।