दमक/ झापा दमककी व्यवसायी महिला जमुना निरौला अधिकारीले व्यवसायिक क्षेत्र परिवर्तन गर्दै ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकी छिन् ।
यसअघि मोवाइल व्यवसाय सञ्चालन गर्दै सामाजिक संघ संस्थाहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी अधिकारीले व्यवसायको क्षेत्र परिवर्तन गर्दै नयाँ व्यवसाय शुरु गरेकी हुन् । दमक ६ स्थित शंखधर चोक नजिकै उनले खुशी खुश्बु ब्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकी हुन् ।

खुशी खुश्बु सीप विकास संस्था समेत दर्ता गरेर उनले सञ्चालनमा ल्याएको सो तालिम केन्द्रसहितको ब्युटीपार्लरको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले उदघाटन गरेका छन् ।
संघका अध्यक्ष गुरागाइँले सो अवसरमा कोरोना महामारीसँगै थला परेको व्यवसायिक क्षेत्र पुनः जाग्दै गएको संकेत यो व्यवसायिक फर्मले दिएको उल्लेख गरे । उनले महिलाहरुले सञ्चालन गर्ने व्यवसायिक फर्महरु तथा महिला उद्यमीहरुलाई सरकारी तथा अन्य व्यवसायिक संघ संस्थाहरुसँगको सहकार्यमा प्रोत्साहन नीति अवलम्बन गरिने पनि प्रतिबद्धता जनाए ।
सो अवसरमा सञ्चालिका अधिकारीले आफूले कोरोना महामारीका कारण व्यवसायिक क्षेत्रबाट केही समय अलग बसेको भएपनि क्षेत्र परिवर्तन गरेर समयको माग अनुसार महिला दिदीबहिनीहरुको सुविधा र आवश्यकतालाई मध्यनजर गर्दै नयाँ व्यवसाय रोजेको उल्लेख गरिन् ।
उदघाटनमा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रुवल अधिकारी , महिला उपाध्यक्ष सुस्मा निरौला, संघका कार्यसमिति सदस्य हेमसिंह अधिकारी लगायत प्रतिनिधिहरु, व्यवसायिक अगुवा एवं सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।