दमक/ झापाको दमक ४ स्थित कृष्ण माविमा लायन्स क्लब अफ दमक गरीमा र सानो प्रयास युवा समाज दमक ५ ले संयुक्त रुपमा ६० हजार मूल्य बराबरका शैक्षिक सामग्री प्रदान गरेका छन् ।
ति संस्थाका सदस्यहरुले सेवाको भावनाबाट स्वैच्छिक रुपमा आपसमा संकलन गरेको सहयोग रकमबाट खरिद गरिएका ति शैक्षिक सामग्री सोमबार बिद्यालयमा आयोजित कार्यक्रमबीच बिद्यार्थीहरुलाई हस्तान्तरण गरिएको छ ।
बिद्यालयमा अध्ययनरत कक्षा ३ सम्मका ३२ जना बिद्यार्थीलाई अंग्रेजी माध्यमका पुस्तकसहित आवश्यक कापी, कलम, पेन्सील आदी उपलब्ध गराइएको लायन्स क्लब अफ दमक, गरीमाका अध्यक्ष राम पौडेलले जानकारी दिए ।

अंग्रेजी माध्यम निशुल्क पठनपाठनका लागि सबैभन्दा पहिला बालबालिकाहरुलाई अंग्रेजी माध्यमका किताब हात हातमा पुरयाइनु आवश्यक भएकोमा अध्यक्ष पौडेलले जोड दिए ।
अन्य सो भन्दा माथिल्लो कक्षाका करिब सय बिद्यार्थीलाई जनही पाँच/पाँच वटाका दरले कापी तथा अन्य शैक्षिक सामग्री प्रदान गरिएको क्लबले जनाएको छ । लायन्स क्लब इन्टरनेशनलका डिस्ट्रिक ३२५ सीका एरिया चिफ को अर्डिनेटर नेत्रप्रसाद चम्लागाइँको प्रमुख आतिथ्य र क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा सानो प्रयासका तर्फबाट अध्यक्ष छवि खतिवडासहित सानो प्रयासका सदस्यहरु, लायन्सकर्मी सामाजिक कार्यकर्ताहरु सहभागी थिए ।
बिद्यालयले सो अवसरमा ति संस्थाहरुलाई बिद्यालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लुइँटेल र प्रधानाध्यापक करन धिमालले धन्यवाद पत्र हस्तान्तरण गरेका थिए ।