दमक/  दमक नगरपालिकाले शैक्षिक सत्र २०८० मा भएको कार्यसम्पादन मुल्यांकनको आधारमा सामुदायिक बिद्यालयको मापदण्ड तथा शैक्षिक सुधार सम्बन्धि सुचकहरुको उत्कृष्ट रुपमा पालना गर्ने एक बिद्यालय र शिक्षकलाई नगदसहित सम्मान गरेको छ ।
नगरले तोकेका मापदण्डहरुको पालना गर्दै नगरको शैक्षिक सुधारमा योगदान पुर्याउने विद्यालयलाई नगद १ लाख २५ हजार रुपैयाँ राशीको पुरस्कारसहित सम्मान गरिएको हो भने शिक्षकलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
समुदायिक बिद्यालय तर्फ दमक ३ मा रहेको ढुकुरपानी माध्यमिक बिद्यालय शैक्षिक बर्ष २०८० मा उत्कृष्ट घोषित भएको हा भने शिक्षक तर्फ दमक १० मा रहेको सिंहदेवी माध्यमिक बिद्यालयमा कार्यरत शिक्षक घनश्याम अधिकारी उत्कृष्ट घोषित भएका हुन् । उनलाई नगदसहित सम्मान गरिएको हो ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले नगरका बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारले चालेको कदममा साथ दिन सम्बद्ध पक्षहरुसँग आग्रह गरे ।
नगरपालिकाका शिक्षा समिति संयोजक कुवेर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक बिकास समिति संयोजक शारदा सापकोटा, सामाजिक व्यक्तित्व विजयप्रसाद बरालले पनि शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा अन्तर बिद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता समेत सम्पन्न भएको छ ।
प्रतियोगितामा दमक ९ स्थित पाणिनी माध्यमिक बिद्यालयका बिद्यार्थीको टिम प्रथम बन्दै नगद २५ हजार रुपैयाँ हात पारेको छ भने दमक ८ स्थित एलाईड बोर्डिङ स्कुल दोश्रो बन्दै नगद १८ हजार रुपैयाँ र दमक १० स्थित सिंहदेवी माध्यमिक बिद्यालय तृतीय बन्दै नगद १२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रविण खड्काले जानकारी दिए ।
नगर भित्र रहेका समुदायिक र संस्थागत गरि ३६ वटा बिद्यालय विच पहिलो चरणको छनोटबाट दोस्रो चरणमा ९ वटा बिद्यालय छानिएका थिए ।
छानिएका ९ वटा विद्यालयहरु विच दोस्रो चरणको प्रतिस्पर्धा गराईएको थियो । विद्यालय अध्ययनरत बालबालिकाहरुको बौद्धिक विकास गराउन यस किसिमको प्रतियोगिता आयोजना गरिएको शाखा प्रमुख खड्काको भनाई छ ।
त्यसैगरी सोही कार्यक्रममा नगर भित्रका समुदायिक बिद्यालयका बिपन्न परिवारका ६२ जना बिद्यार्थीे र अध्ययनरत १३ जना बुहारीहरुलाई छात्रबृत्ति समेत प्रदान गरिएको थियो ।

 

Facebook Comments Box