दमक/ बर्षासँगै बालबालिकाहरुको ज्यान जोखिममा परेको छ । बर्षासँगै घर आँगन र छेउछाउका खोला खोल्सीहरुमा पानीको मात्रा बढ्दा र सर्पको बिगबिगी हुँदा झापामा बालबालिकाहरुले अकालमा ज्यान गुमाउनु परेको हो ।
पछिल्लो २४ घण्टामा झापामा बालबालिकाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन् ।
बुधबार दिउँसो गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभारामा घर नजिकैको बनियानी (माथिल्लो कमल) खोलामा पसेका अन्दाजी १२/१३ बर्षका बालकलाई खोलाले बगाएको छ । साथीहरुसँगै खोलामा पौडी खेल्न पसेका स्थानीय बेद प्रसाद बिकका छोरा मिलन बिकलाई खोलाले बगाएको हो । उनको अवस्था अज्ञात रहेको र खोजी तथा उद्धारको प्रयास जारी राखिएको प्रहरीले जनाएको छ ।
बुधबारनै कचनकवल ३ ठुलो केचनाका हरी प्रसाद राजवंशीकी १२ बर्षिया छोरी मनिषा राजवंशीको सर्प डसाईका कारण मृत्यु भएको छ । आफ्नै भण्डार कोठा भित्र टेबल मुनि बिषालु सर्पले टोकेर बिरामी परेकी मनिसाको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।
बर्षामा बाहिर सर्पको बासस्थान पानीले भरिभराउन हुँदा सल्बलाउँदै सुरक्षित बासस्थानको खोजीमा मानिसका घर कोठामा पस्ने गर्नाले यो मौसममा सर्पको टोकाइको जोखिम बढी हुने जानकारहरु बताउँछन् ।
यसअघि मंगलबार मेची नगरपालिका वडा नम्बर १४ नमुना टोलका बामरा सतारका छोरा डेढ बर्षिय छोराको खोलामा डुबेर मृत्यु भएको हो । घरदेखि ३०० मिटर पुर्वमा रहेको फुलवासा खोलामा खेल्ने क्रममा अचानक डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

Facebook Comments Box