दमक/ झापाको दमकका महिलाहरु परम्परागत नौमती बाजा बजाउने पेशामा जोडिन थालेका छन् ।  स्थानीय सरकारले महिलाहरुलाई आय आर्जनमा जोड्दै संस्कृति संरक्षणमा समेत योगदान पुरयाउने उद्धेश्यले महिलाहरुको  चार वटा नौमती बाजा समुहनै बनाएको छ ।
गत आर्थिक बर्षदेखि शुरु भएको यो कार्यक्रममा नगरका झण्डै ५० जना महिला आवद्ध भएका छन् । दमकको वडा नम्बर १० मा गत आर्थिक बर्षदेखिनै संगम नौमती बाजा समुह गठन गरेर तालिम प्रदान गरिसकिएको छ ।
संगम नौमती बाजा महिला समुह नाम दिइएको १० जनाको सो समुहको नेतृत्व स्थानीय कल्पना अधिकारीले गरिरहेकी छिन् ।  सो समुहले अहिले बाजा बजाएरै आम्दानी समेत गर्न थालेको छ ।

असार महिनामै दुई तीन वटा कार्यक्रम निर्धारण भइसकेका छन् । मसिंरमा शुभ कार्यका लागि समुह पुरै प्याक भएको सुनेका छौं, दमक १० की वडा सदस्य भुमिका आचार्यले भनिन् । आचार्यका अनुसार सो समुहले प्रत्येक कार्यक्रममा बाजा बजाए वापत कम्तीमा २५ हजार रुपैयाँ लिने गरेको छ । कार्यक्रममा आकर्षण बढाउनका लागि पनि धेरै आयोजकहरुको रोजाइमा महिलाहरुको यो नौमती बाजा समुह पर्ने गरेको आचार्यको भनाई छ ।
दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सो समुहमा आवद्ध महिलाहरुलाई समाजका हरेक क्रियाकलापमा सक्रिय बनाउन मद्धत पुगेको छ । सो समुहले विभिन्न सभा समारोह , शुभ कार्यहरुमा बाजा बजाउने गरेको छ ।

आयोजक व्यक्ति वा संस्थाले समुहमा आफ्नो कार्यक्रमका लागि औपचारिक निम्तो दिएपछि नौमति बाजा टोलीले शर्त अनुसारको समयावधिमा बाजा बजाइदिने गरेको छ ।
समुहमा भएको सो आम्दानी समुहको वचतमा राख्नुका साथै बाजा टोलीमा समावेश महिलाहरुले पारिश्रमिक स्वरुप राख्ने गरेका छन् ।


त्यसैगरी दमकको ३ नम्बर वडामा गठन गरिएको नौमती बाजा समुहलाई पनि दमक नगरपालिकाले बाजा बजाउने प्रशिक्षण दिइसकको छ । नारी सशक्तीकरण समाजले नगरपालिकासँगको सहयोगमा तयार पारेको तालिम प्राप्त सो समुह गाउँ समाज विवाह, व्रतबन्ध, बेठी लगाउने आदी सार्वजनिक कार्यक्रमका लागि तयारी अवस्थामा रहेको नारी सशक्तिकरण समाजकी अध्यक्ष लता चापागाइँ बताउँछिन् ।
बबिता दाहालको नेतृत्वमा रहेको सो समुहमा पनि करिब एक दर्जन महिला आवद्ध रहेका दमक ३ का वडाध्यक्ष नबिन बरालले जानकारी दिए ।

यो समुहले औपचारिक तालिम प्राप्त गरेको र आवश्यक ठाउँमा सेवा दिन सक्ने अवस्थामा रहेको वडाध्यक्ष बरालले बताए ।
महिला समुहलाई परम्परागत नौमती बाजा बजाउने तालिम सञ्चालनमा स्थानीय सरकार उत्साहित हुँदै यसै साता दमकको वडा नं ८ र ५ का लागि समेत समुह बनाएर तालिम दिन शुरु गरेको छ । वडा नं ८ को अग्र्यानिक कृषि बजार परिसरमा सञ्चालन भइरहेको १५ दिने सो तालिममा वडा नं ५ र ८ बाट २२ जना महिलाहरु सहभागी छन् ।

वडा नम्बर ५ का वडाध्यक्ष इन्द्र गुरुङ यसखाले तालिमले महिलाहरुलाई परिवर्तन तर्फ उन्मुख गराउन योगदान दिने बताउँछन् । सो तालिमको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भटट्राइ प्रसाइँले महिलाहरुलाई आय आर्जनमा जोड्न नौमती बाजा बजाउने परम्परागत सीपको संरक्षण र प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले सहयोग पुरयाउने बताए ।
दमक १० की वडा सदस्य भुमिका आचार्य भने नगरको एउटा वडामा सञ्चालित यस किसिमको तालिम सबै वडामा चलाउँदा नौमती बाजा बजाउने समुह व्यवसायिक रुपमा सफल हुन नसक्ने सम्भावना बढ्ने बताउँछिन् । एउटा वडामा चलेको यस किसिमको तालिम अर्को वडामा चलाउनु भन्दा अरुनै कुनै फरक किसिमको व्यवसायिक सीप सिकाएर महिलाहरुलाई आय आर्जनमा जोड्न सकिने उनको सुझाव छ ।

Facebook Comments Box