दमक/  दमकका उद्योगी ब्यवसायीहरुले पछिल्लो समय कारोबारमा आएको मन्दी र बैंकहरुले दिने गरेको तनावका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दमक उद्योग बाणिज्य संघले आज आयोजना गरेको ब्यवसायीहरुसंग बैंक बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बजारमा किनबेच प्राय ठप्प अवस्थामा रहेको भन्दै व्यवसायीहरुमाथि बैंकले आफूखुशी ब्याज दर बढाउने, १० बर्षका बालबालिकालाई समेत अभिभावकले लिएको कर्जा सम्बन्धिको कागजातमा घरमै गएर हस्ताक्षर गराउने, विभिन्न आकर्षक स्किमहरु देखाएर ऋण लगानी गर्ने र ऋण लिएपछि स्कीम नदिई उल्टै जरिवाना तथा अतिरिक्त शुल्कहरु असुलेर व्यवसायीलाई चरम पीडा दिने गरेको गुनासो गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोकुल श्रेष्ठले अर्थतन्त्रमा देखिएको विषम परिस्थितिलाई समयमा नै निराकरण नगर्ने हो भने थप समस्या बढ्ने तर्फ सचेत हुन आग्रह गरे । समस्याको समाधान गर्न सम्बद्ध निकायले तत्कालै पहल गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि साझा अवधारणाको खाँचो औंल्याए । उनले ब्यबसायीहरुलाई सहुलियत कर्जा प्रदान गरेर ब्यवसाय जोगाउन बैंकले सघाउनु पर्ने माग गरे । दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले व्यवसायीहरुले आफ्नो व्यापार विस्तारमा लगानी गर्ने अवस्था नभएको बताए ।  उनले व्यवसायलाई कसरी जोगाउने भन्ने मात्र चिन्ता बढेको पनि बताए । समस्याको समाधानका लागि बैंकहरुले सही नीति र कार्ययोजना ल्याउनुपर्ने उनको सुझाव दिए । कर्जा भुक्तान गर्न नसक्ने ब्यवसायीहरुबाट केहि समय ब्याजमात्रै लिएर पनि सहजिकरण गर्न सकिने अध्यक्ष गुरागाईंको सुझाव छ ।

दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका व्यवसायी राजकुमार योङयाले आफ्नो कारोबार सर्त सम्झौता अनुसार भइरहँदा समेत प्राइम बैंकका कर्मचारीले घरमै गएर १० बर्षीय छोरालाई कर्जा कागजमा हस्ताक्षर गराएको भन्दै आपत्ति प्रकट गरे ।
संघका द्धितिय उपाध्यक्ष समेत रहेका व्यवसायी ज्ञाननाथ पौडेलले बैंकहरुले सम्पन्नहरुलाई मात्रै कर्जा दिने र आत्मनिर्भर बन्न खोज्ने विपन्न र घरेलु कृषि उद्यम गर्न चाहनेलाई ऋण नदिएको बताए । उनले बैंकहरु नाफामुखी मात्रै भएर साना तथा मझौला व्यवसायीहरुलाई विस्थापित गर्ने खेलमा लागेको आरोप लगाए । अर्का व्यवसायी राजकुमार न्यौपानेले बैंकहरुका विरुद्ध नागरिकस्तरबाट भइरहेको विरोध न्यायका लागि भएको अनुभुति गर्न बाध्य बनाउन खोजिएको भन्दै त्यसले कालान्तरमा कसैलाई फाइदा नगर्ने बताए ।

नबिल बैंकले ४ प्रतिशत ब्याजदरमा स्वीकृत गरेको कर्जा बढाएर स्टोक प्रमाणित लगायतका विभिन्न बहानामा ९ प्रतिशत सम्म पुरयाउनुका साथै अतिरिक्त रकम असुल गरेको व्यवसायी विष्णु साहले गुनासो गरे । साहले आफूबाट नियमविपरित नबिल बैंकले लिएको अतिरिक्त रकम फिर्ता गर्ने आश्वासन मात्रै पाएको तर अहिले सम्म फिर्ता नभएको भन्दै आक्रोश व्यक्त गरे ।

कार्यक्रममा ब्यबसायीहरु नेत्र चम्लागाईं, बिक्रम शाह, हेमसागर अधिकारी, कमल कटुवाल, भुपेन्द्र न्यौपाने, लगायतले ब्याजदर वृद्धिलगायतका समस्या समाधान नगरेमा व्यवसाय नै धरासायी बन्ने अवस्था आएको बताउँदै यसतर्फ सम्बद्ध निकाय गम्भीर बन्नुपर्नेमा जोड दिए ।
ब्यवसायीहरुले ब्याजदरको जुन सर्तमा कर्जा लिएको हो त्यहि सर्तमा किस्ता तिर्ने ब्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन् । बैंकहरुले नयाँ ऋणीलाई आकर्षित गर्न ब्याजदर कम दिने गरे पनि पुराना ऋणीलाई महंगै ब्याजदर लगाउने गरेको भन्दै बैंकहरु अहिलेको अवस्थामा जिम्मेवार बन्नु पर्ने बताए ।

ब्यवसायीहरु लिएका कर्जा तिर्न तयार रहे पनि तिर्ने वातावरण बैंकहरुले बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । कार्यक्रममा बंैकर्स एशोशिएसन दमकका अध्यक्ष युवराज दाहालले विगतमा बैंकहरुले समेत कर्जा लगानी गर्दा ऋणीलाई पर्याप्त सुसुचित गर्न नसक्नु बैंकहरुको कम्जोरी भएको स्वीकार गरे । उनले आम नागरिकहरुमा स्वदेशको अर्थतन्त्र चलायमान बनाउने भावनाको बिकास गराउनु पर्नेमा जोड दिए । उनले बैंकहरुबाट भए गरेका कम्जोरीहरुलाई सच्याएर आगामी दिनमा व्यवसायीहरुसँग संस्थागत छलफल गरेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाए ।
विश्व अर्थतन्त्रमा नकारात्मक असर परेको यथार्थतासँगै व्यवसायीबाट उठेका कुराले सकारात्मक सन्देश दिने उनले बताए । उनले लगानीमैत्री वातावरण सिर्जना गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रेरित गर्न आवश्यक भएकोमा पनि जोड दिए ।

Facebook Comments Box