दमक/ नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकरले पार्टी सत्ता केन्द्रित भन्दा पनि जनता केन्द्रित हुनुपर्ने बताएका छन् ।
पार्टीले पूर्व क्षेत्रमा सञ्चालन गरिरहेको पूर्वेली संगठन सुदृढिकरण अभियान अन्तर्गत आज झापाको दमकमा आयोजित नगर कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै नेता शर्माले पार्टीले सत्तालाई भन्दा जनतालाई शिरमा राखेर काम गर्नुपर्ने उल्लेख गरेका हुन् ।
विगतमा जनतासँग जोडिने कार्यक्रमहरु गरेको भएता पनि पछिल्लो समय जनता माओवादीबाट टाढिँदै जानु पार्टी र देशका लागि चिन्ताको बिषय भएको नेता शर्माको भनाई थियो ।
माओवादीको स्थानीय नेतृत्वले पूर्वेली संगठन सुदृढिकरण अभियान अन्तर्गत दमकमा सञ्चालन गरेको फलफुलका विरुवा रोप्ने कार्यक्रमको प्रशंसा गरेका नेता शर्माले यसले पर्यवरण संरक्षणसँगै पार्टी र आम जनताको समेत हित गर्ने बताए । नेता शर्माले सो अवसरमा दमक ८ स्थित पार्टी कार्यालय परिसरमा वृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो लगत्तै नेता शर्मा माओवादीले दमकमा जारी राखेको फलफुलका एक लाख विरुवा रोप्ने कार्यक्रम अन्तर्गत दमक २ स्थित हिमालय माविमा पुगेर बिद्यार्थी र अभिभावकलाई फलफुलका विरुवा हस्तान्तरण गरेका थिए ।
पूर्वेली संगठन सुदृढिकरण अभियान अन्तर्गत सो अवसरमा माओवादी केन्द्रले विगतमा माओवादी जनयुद्धमा पार्टीका सेल्टर दाता तथा अन्य विभिन्न कोणबाट सहयोग गर्ने दुई सय जनालाई सम्मान पत्रद्धारा सम्मान गरिएको माओवादी केन्द्र दमक नगर इञ्चार्ज बेदु गौतमले जानकारी दिए । सम्मान गरिने सूचीमा रहेका र विबिध कारणले आज छुटेका अन्य १ सय ५० जना भन्दा बढीलाई पार्टीको स्थानीय नेतृत्व र अभियानका तर्फबाट घर–घरमा पुगेर सम्मान गरिने कार्यक्रममा जनाइएको छ ।
दमकमा सो अभियानको नेतृत्व माओवादी केन्द्र झापाका नेता राजु आचार्य (अग्नी)ले गरेका थिए ।
माओवादी केन्द्र दमक नगर कमिटीका अध्यक्ष कुलबहादुर बस्नेत (रवि)को अध्यक्षतामा भएको आजको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यद्धय शिवकुमार मण्डल, रञ्जित तामाङ, प्रदेश कमिटी अध्यक्ष मिक्सो र अभियानका संयोजक तथा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्यले पनि पार्टी संगठन, अभियान केन्द्रित आआफ्ना धारणा राख्दै पार्टीलाई आगामी दिनमा थप एकताबद्ध बनाएर जनताको सेवामा केन्द्रित गर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै पार्टीका नगर कमिटी इञ्चार्ज बेदु गौतमले दमकमा माओवादी केन्द्रलाई आगामी निर्वाचनमा विजयी गराएरै छाड्ने प्रतिबद्धता समेत जनाए ।