झापाका विभिन्न स्थानमा बर्षाका कारण सोमबार रातीदेखि डेढ दर्जन बढी घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । जिल्लाको दक्षिणवर्ती ग्रामिण क्षेत्रमा सर्वसाधारण बर्षाका कारण प्रभावित भएका हुन् । झापाको कचनकवल ५ खुटटगञ्जका चार घर परिवार प्रभावित भएका हुन् ।

प्रहरीका अनुसार सो ठाउँका कुञ्जी राजवंशीको तीन जनाको परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । उनीहरु स्थानीय प्रभा राजवंशीको घरमा आश्रय लिएर बसेका छन् । स्थानीय देवी राजवंशी एक जनाको परिवार, कार्तिक राजवंशीको पाँच जनाको परिवार र सञ्जय राजवंशीको चार जनाको परिवार डुबानका कारण जोखिममा परेका छन् ।

त्यसैगरी झापा गाउँपालिका वडा नं ६ को युवा टोलका चार परिवारलाई सुरक्षित स्थान तर्फ सारिएको छ । शरणामती बजार क्षेत्रबाट १४ किलोमिटर उत्तर पश्चिममा रहेका दिपक आचार्यको परिवारका ७ जना, सीता दुलालका चार जनाको परिवार, प्रदिप सिंहका तीन जनाको परिवार र नविन बराइलीको चार जनाको परिवारलाई स्थनीय केदार श्रेष्ठको घरमा सुरक्षित स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

चट्यागं लागेर घाईते, दुई ठाउँमा आगलागी

मंगलबार बिहान बर्षासँगै परेको चट्यागंले लागेर एक महिला घाईते भएका छन् । मेचीनगर १५ कालिका झार बस्ने २१ बर्षिया रञ्जिता हाँस्दा बिहान ३ बजे परेको चट्यागं लागेर घाइते भएकी हुन् । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । चट्यागंले लागेर झापा गाउँपालिका वडा नं २ सडकबारीमा बिष्णुबहादुर बुढाथोकीको घरमा आगलागी हुँदा एक लाख बराबरको नोक्सान भएको छ । त्यस्तै सोही गाउँपालिकाको ३ नम्बर वडामा पर्ने गौरीगाउँका धनप्रसाद पौडेलको परालमा चट्यागंका कारण आगलागी भएको छ ।

अर्जुनधारमा पहिरो, खानेपानीको मुहानमा क्षति

बर्षासँगै पहिरो जाँदा अर्जुनधारा २ लाप्चेटारमा पुष्पा समाल मगरको घरमा क्षति पुगेको छ । सो घरका मानिसहरुलाई सुरक्षित स्थान तर्फ सारिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनु भयो । अर्जुनधाराको वडा नं १ मा खानेपानीको मुहानमा क्षति पुगेको छ भने वडा नं २ मा पर्ने राते भन्ने ठाउँमा मदन भण्डारी राजमार्ग उत्तर तर्फका १० घर डुबानमा परेका छन् । लाप्चेटार सहकाले जाने सडक अवरोध भएको छ भने खेतीयोग्य जमिन गोयागं र टागंटिगं नदीले कटान शुरु गरेको छ । त्यस्तै वडा नं ३ मा सुखानी खोलाको कज्वेमा क्षति पुरयाउँदा आवागमन बन्द भएको रेडक्रस झापाका सभापति ढकालले जानकारी दिनु भयो ।

Facebook Comments Box