दमक/ झापाको दमक नगरपालिकाले यस बर्ष ल्याएको उपप्रमुखसँग बालबालिका विशेष कार्यक्रम मार्फत बालबालिकाहरु स्थानीय सरकारसँग प्रत्यक्ष जोडिने अवसर पाएका छन् ।  यो कार्यक्रम अन्तर्गत उपप्रमुख रेगिना भट्टराई प्रसाइँ बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न बिषयका अनुभवी तथा विज्ञहरुको टिमसहित बालबालिकाहरुको समुहमा पुगेकी छन् । कार्यक्रम अन्तर्गत उपप्रमुख भट्टराईले हिंसामा परेका बालबालिकाहरुलाई घट्नास्थलमानै पुगेर उद्धार गर्नुका साथै कानुनी परामर्शसँगै बालबालिकाका विभिन्न अधिकार क्षेत्रहरुका बारेमा सुसुचित गराएकी छन् ।

सो क्रममा उपप्रमुख भट्टराईले विभिन्न सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा पुगेर बालबालिकाको समुहमै प्रत्यक्ष छलफल गर्नुका साथै संविधान प्रद्धत बाल अधिकारका बिषयहरु, अभिभावकको दायित्व र कानुनी शासनको अवधारणा, स्थानीय सरकारको आवश्यकता, स्थानीय सरकारसँग बालबालिकाले राख्नुपर्ने अपेक्षा, बालबालिकाको संरक्षण, बालबालिकाको अभिभावकत्व लगायतका बिषयमा जानकारी गराएकी छन् ।
दमक ६ स्थित सुर्योदय अंग्रेजी मावि र दमक ३ स्थित ढुकुरपानी माविमा आयोजित उपप्रमुखसँग बालबालिका कार्यक्रममा नगर उपप्रमुख भट्टराईले बालबालिकाले उठाएका शिक्षा, स्वास्थ्य, स्थानीय बिकास निर्माणका बिषयहरुमा उठेका जिज्ञासाहरुको समाधान गरेकी छिन् ।

उनले त्यस अवसरमा सामुदायिक बिद्यालयको कक्षा ५ सम्म पूर्ण निशुल्क पढ्न पाउने, संस्थागत तथा बोर्डिङ स्कूलहरुमा भर्ना भएका मध्ये आर्थिक रुपमा विपन्न परिवारका १० प्रतिशत बालबालिकाले निशुल्क पढ्न पाउनुपर्ने व्यवस्था कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरिन् । कानुनी व्यवस्था अनुसार दिनुपर्ने छात्रवृत्तिको सुविधा प्रदान गर्न, नगरपालिकाले प्रतिबन्ध लगाएका स्वास्थ्यका दृष्टिकोणबाट हानिकारक खाद्यबस्तुहरुको प्रवेशमानै रोक लगाउन, बालमैत्रीपूर्ण व्यवहार गरेर समृद्ध नगर निर्माणमा योगदान गर्न आव्हान पनि गरेकी छिन् ।  सो क्रममा बिद्यार्थीहरुले बालबालिकाको क्षेत्रमा स्थानीय सरकारले गर्नुपर्ने कामहरुका बिषयमा सुझाव समेत राखेका छन् ।

Facebook Comments Box