कमल / झापाको कमल गाउँपालिकाले सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक, सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरु समेत शैक्षिक क्षेत्रका दुई दर्जनलाई सम्मान गरेको छ । सामुदायिक बिद्यालयको क्षेत्रमा शैक्षिक सुधारका नमुना कार्यक्रमहरु ल्याएर अघि बढिरहेको स्थानीय सरकारले सामुदायिक शिक्षालाई प्रोत्साहन गर्ने लक्ष्यसहित सम्मान कार्यक्रम गरेको हो ।
सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुको शिक्षण सिकाइ कार्यमा प्रेरित गर्ने उद्धेश्यले गाउँपालिकाले शुक्रबार आयोजित समारोहका बीच गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा कार्यरत साबिक प्राथमिक तहतर्फ तीन जना, साबिक निम्न माध्यमिक तहबाट पाँच जना ,माध्यमिक तहबाट पाँच जना र साबिक उच्च माध्यमिक तहबाट तीन जना , उत्कृष्ट बाल बिकास शिक्षक एक जना, बिद्यालय सहयोगी कर्मचारी एक जना र बिद्यालय सहायक कर्मचारी (लेखा) १ जनालाइ वर्ष शिक्षक २०८० द्वारा सम्मान गरेको हो ।


पालिकाले सेवा निवृत्त शिक्षक ८ जना , कर्मचारी ५ जनालाई र बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मध्येबाट एक जनालाई पनि सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारको अभियानमा स्थानीय सरकारले ठोस योजना ल्याएको बताउँदै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समग्र कमल गाउँपालिकाको शैक्षिक बिकासका लागि लाग्न शिक्षक, कर्मचारीहरुलाई आग्रह गरे ।
पालिकाले गरेको सम्मानबाट शिक्षक, कर्मचारीहरु र समग्र शैक्षिक जगतलाईनै हौसला मिलेको नरेन्द्र जनता मावि कमल १ का प्रधानाध्यापक बद्री कार्कीले उल्लेख गरेका छन् ।
कमल २ समयगढस्थित महेन्द्ररत्न माविमा आयोजित औपचारिक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडाध्यक्षहरु अग्नी कोइराला, नरेन्द्र भट्टराई लगायत जनप्रतिनिधिहरुले उनीहरुलाई सम्मान गरेका हुन् ।

