नेपालको संविधान २०७२ पछि स्थानीय सरकारको अभ्यासका लागि भएको दोश्रो निर्वाचन २०७९ वैशाख ३० अर्थात आजकै दिन भएको थियो । स्थानीय सरकार चलाउने जनप्रतिनिधिको भुमिका र आम नागरिक (जनता)का अपेक्षाबीच तालमेल कत्तिको भयो ?
नागरिकका आवश्यकता सम्बोधनमा जनप्रतिनिधिहरुको योगदान कस्तो छ ? भन्ने बिषयमा झापाका केही जनप्रतिनिधि र विभिन्न क्षेत्रका अगुवाहरुसँग प्रतिक्रिया लिएका छौं ।
प्रस्तुत छ उहाँहरुको प्रतिक्रिया जस्ताको तस्तै-

धर्मप्रसाद दाहाल , दिपेश ( वडाध्यक्ष, दमक ८ )

मेरो दुई बर्षको अनुभवमा जनप्रतिनिधि त्यसमाथि वडाध्यक्ष पद भनेको तल्लो तहका जनतासँग प्रत्यक्ष जोडिएको सबैभन्दा नजिकको पद रहेछ । त्यसै अनुरुप वडाध्यक्षसँग त्यति ठुला अपेक्षा भन्दा पनि  साना तिना , एकदमै अप्ठ्यारा परिस्थितिहरुमा साथ सहयोगको अपेक्षा जनताले गर्नुभएको हुँदो रहेछ । बाटा, घाटा, पुल , पुलेसा मनोरञ्जनका अरु अपेक्षाहरु त हुनेनै भए तर जनताका साना मसिना कामहरुमा पनि नागरिकहरुले हाम्रो साथ खोज्नु हुँदो रहेछ ।
प्रशासनिक कामका सिलसिलामा कंही अप्ठ्यारोमा बोलिदिनु पर्ने जम्म, मृत्यु, बसाइँसराइँ दर्ता जस्ता परिस्थितीहरुमा पनि सकारात्मक सहयोगको अपेक्षा राख्नु भएको हुँदो रहेछ ।
त्यसकारण हामी जनप्रतिनिधिले चाहिं हरेक समय उहाँहरुलाई दिनुपर्ने अवस्था रहेछ ।
कर्मचारी साथीहरु १० – ५ बजेको बीचमा काम गर्नुहुन्छ तर जनप्रतिनिधिहरुले लगभग २४ सै घण्टा अलर्ट बस्नुपर्ने हुँदो रहेछ । हामीले सर्वसाधारण सेवाग्राहीको सहजताका लागिनै वडा कार्यालय भित्रै निवेदन लेख्ने, फोटोकपी जस्ता सेवाहरु निशुल्क प्रदान गरिरहेका छौं ।

उपलब्धि
उपलब्धीहरुका सन्दर्भमा भन्दा हाम्रो पाँच बर्षे कार्यकाल भित्रको २ बर्षको अवधि पनि चानचुन होइन ।
झण्डै आधा समय हामीले बिताइसकेका छौं । यसबीचमा हामीले केही महत्वपूर्ण र वडामा गर्वलायक , सम्झिन लायक कामहरुको थालनी गरेका छौं । बिकासका निर्माणका सन्दर्भमा संघ, प्रदेश पालिका र वडा सिलिङको बजेटबाट पनि के कस्ता काम भए ? कसरी भए ? आदि बिषयमा एउटा सार्वजनिक सुनुवाई मार्फत आम नागरिकलाई जानकारी गराउने अभ्यास गरेका छौं ।

सके सम्म सन्तुलित र समावेशी ढंगबाटनै हामीले योजनाहरुको प्राथमिकता निर्धारण गर्ने गरेका छौं ।
हामीले वडाबासीहरुलाई अप्ठ्यारोमा सहयोग गर्नुपर्छ भन्ने मान्यतासहित वडाको तर्फबाट वडाबासी कसैको निधन हुँदा ५ हजार नगद र जिन्सीसहित समवेदना लिएर घरमा पुग्ने गरेका छौं । वडाका सय परिवारलाई स्वास्थ्य बीमा निशुल्क गरिदिने गरेका छौं भने कोही विपन्न नागरिकको मृत्यु संस्कारमा आवश्यक सहयोग गर्ने गरेका छौं । जन्म र मृत्यु दर्ता घर घरमा पुगेर गरिदिने व्यवस्था गरेका छौं । अर्को कुरा कुनै पूर्वाधार निर्माणको योजना जहाँ काम हुने हो त्यही स्पोटमै सम्झौता गर्ने कामको शुरुवात गरेका छौं ।

उपलब्धिकै कुरा गर्दा वडा भित्र हामीले विभिन्न तहका सरकारको बजेटबाट २५ वटा पूर्वाधार निर्माणको योजना सञ्चालन गरेका छौं । ति योजनाहरुको लागत ५÷७ करोड जति हुन आउँछ ।
हामीले यो बर्ष रतुवाको बाँँध सौन्दर्यकरणमा २० लाख खर्च गरेका छौं । बिद्युत प्राधिकरणसँगको सहकार्यमा यसको सौन्दर्यकरणका लागि ५६ लाखको तार तथा बिद्युतको काम यहाँ हुनेछ । अर्को कुरा हामीले रतुवामा मुक्तीघाट बनाउने भनेर शुरुवातत गरेका छौं । दाहसंस्कारका लागि माइ सम्म जानुपर्ने बाध्यता हटाउने हाम्रो सोच हो ।
संघ र प्रदेशको सहयोगमा दाहसंस्कार स्थल बनाउने र रातेहोलीमा पनि सौन्दर्यकरणको काम गर्दैछौं ।
बिद्यालय तर्फ हाम्रो वडामा दुई वटा सामुदायिक बिद्यालय छन् । ति बिद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु भइसकेको छ । यो वडामा घरैपिच्छे जस्तो बोर्डिङ तथा संस्थागत स्कूल छन् । तिनको पनि नियमन हामी गर्नेछौं ।

यो बर्ष हामीले सामुदायिकमा पनि अंग्रेजी माध्यम छ र गुणस्तरीय पढाई हुन्छ भन्ने सन्देश दिदैछौं । त्यसका लागि वडाको तर्फबाट अंग्रेजी शिक्षकको आवश्यकता अनुसार व्यवस्थापन गर्नेछौं । शिक्षक अनुदान हामी दिनेछौं । अर्कोबर्ष समयमै घरदैलो अभियान सञ्चालन गरेर धेरै भन्दा धेरै वडाबासीले सामुदायिकमा नै छोराछोरी पढाउने वातावरण हामी मिलाउँदैछौं ।
आधारभुत स्वास्थ्य सेवाका लागि हामीले चाहे अनुसारको काम गर्न सकेका छैनौं । खेलकुदको क्षेत्रमा बजेटको व्यवस्था गरेर यो बर्ष एउटा फुटसल मैदानको व्यवस्था गर्दैछौं । यसका लागि जग्गाको व्यवस्थापन भइसकेको छ । वडा भित्र खेलकुद प्रतिभाको खोजी र उनीहरुको संरक्षण र बिकासमा हाम्रो विशेष ध्यान गएको छ ।

 

 

Facebook Comments Box