नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारको अभ्यासका लागि भएको दोश्रो निर्वाचन २०७९ वैशाख ३० अर्थात आजकै दिन भएको थियो ।

यो निर्वाचनबाट पाँच बर्षे कार्यकालका लागि नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकार गठन भएको हो । पाँच बर्षे कार्यकालका लागि जनताबाट प्रत्यक्ष रुपमा चुनिएको वर्तमान स्थानीय सरकार सञ्चालन गर्ने जनप्रतिनिधिहरुलाई निष्कर्ष न्यूजले अनुभव र उपलब्धिमा दुई बिषयमा प्रतिक्रिया लिएको छ ।  प्रस्तुत छ जनप्रतिनिधिहरु मध्ये झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन)बाट प्राप्त प्रतिक्रिया जस्ताको तस्तै  –

मेगाहाङ थोप्रा नगर प्रमुख, शिवसताक्षी नगरपालिका

अनुभव – स्थानीय तहको निर्वाचन २०७९ हुँदै गर्दा र हामीले सरकार प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा जनताका चाहनाहरु धेरै थिए । यो स्वभाविक पनि थियो । हामी आएपछि ति चाहनाहरुको सम्बोधन हुनुपर्छ भन्ने मान्यता जनताले राख्नु जायज हो । जनताको चाहना आफ्नो ठाउँ , आफ्नो देश एक दमै अघि बढोस भन्ने हुन्छनै । त्यति हुँदा हुँदै पनि यो दुई बर्ष बीचको समय तपाइँ हामी सबैलाई थाहा छ कि देश र विश्व परिस्थितीनै आर्थिक मन्दिको प्रभावमा परेको छ ।

तथापी मैंले शिवसताक्षी नगर प्रमुखको हैसियतबाट हिजो चुनावताका गरेको प्रतिबद्धताहरुलाई स्मरण गर्दा हामी हाम्रो प्रतिबद्धता पुरा गर्नमा केन्द्रित छौं ।

मेरो अनुभवमा मान्छेहरु अलि बढी व्यक्ति केन्द्रीत हुँदा रहेछन् । आम नागरिकका मुद्धाहरुमा भन्दा आफ्ना व्यक्तिगत स्वार्थ र स्वार्थसँग जोडेर स्थानीय सरकारका काम कार्यवाहीहरुको मुल्याङकन अलि फरक तरिकाबाट पनि गर्ने गरेको सामाजिक सञ्जाल र कतिपय मिडियाहरुमा म देख्छु । मेरो विचारमा उहाँहरु जसले त्यस्तो टिका टिप्पणीहरु गरिरहनु भएको छ उहाँहरुमा कुनै पनि बिषयमा सामुहिकताको भावना छैन । सकारात्मक सोचको अभाव देख्छु । असहज परिस्थितीका बीच स्थानीय सरकारले गरिरहेका कामहरुलाई अहिले सकारात्मक भन्दा पनि नकारात्मक ढंगले व्याख्या गर्ने र समाजलाई नकारात्मकता तर्फ उन्मुख गराउने, विकृति विसंगतिहरुलाई बढावा दिने र हामीले रातदिन खटेर, निस्वार्थ भावनासाथ गरेका कामहरुको अवमुल्यन गर्ने काम यदाकदा भइरहेको मैंले पाएको छु ।

मैंले मेरो कार्यकालमा भए गरेको नगरपालिकाका निम्न कामहरुलाई सिंगो नगरको उपलब्धिका रुपमा लिएको छु ।

दमकलको व्यवस्था :

हामी आउँदा हाम्रो नगरमा आगलागीका घटना हुँदा बाहिरबाट दमकलको सहारा लिनुपर्ने अवस्था थियो । मैंले चुनावताका पनि आफ्नो प्रतिबद्धतामा राखेको बिषय हाम्रै नगरमा दमकलको व्यवस्था गर्ने भन्ने थियो । त्यो हामीले पुरा गरेका छौं ।

दोमुखा जाने सडक कालोपत्रे

शिवसताक्षी नगरको मात्रै नभएर पूर्व क्षेत्रकै गहनाका रुपमा रहेको धार्मिक तथा प्राकृतिक सौन्दर्यताले भरिएको दोमुखा क्षेत्र आउवतजावतमा सहजताका लागि हामीले महत्वपूर्ण योजनाका रुपमा रहेको माइधार–दोमुखा सडक कालोपत्रे गर्ने काम गरेका छौं । झिलझिलेबाट सताक्षीधाम जाने सडक पनि कालोपत्रे भएको छ । यसले यहाँको पर्यटन बिकास गर्दै नगरको आयस्रोतलाई बढाउन योगदान दिनेछ भन्ने हामीलाई विश्वास छ ।

खेलकुद तर्फ :

खेलकुदका क्षेत्रमा हामीले दुधेमा रंगशाला निर्माणको काम गरिरहेका छौं । नगर खेलकुद बिकास समिति गठन गरेर नगरलाई खेलकुदको बिकासमा पनि संगसंगै अघि बढाएका छौं । खेलकुद बिकास समिति मार्फत अहिले गाउँ – टोलसम्म खेलकुदका क्रियाकलापहरु अघि बढाइएका छन् । स्थानीय तथा यहाँबाट उत्पादन भएका राष्ट्रिय खेलाडीहरुको प्रोत्साहनमा पनि हामीले काम गरिरहेका छौं ।

बिद्यालय तर्फ :

हामीले शिवसताक्षी नगरका सबै सामुदायिक बिद्यालयहरुलाई निजी बोर्डिङको हाराहारीमा पुरयाउने लक्ष्यसहित स्मार्ट बिद्यालयको अवधारणा अघि सारेर काम गरिरहेका छौं ।

यहाँका सुर्योदय, राष्टिय रमणीय , बाल सेवा आधारभुत, बाल निकुञ्ज लगायतका सामुदायिक बिद्यालयहरु स्मार्ट बनिसकेका छन् । तीन बर्ष भित्रमा हामी अरु सबै बिद्यालयलाई स्मार्ट बनाउँदैछौं ।

स्वास्थ्य तर्फ :

शिवगञ्ज स्वास्थ्य केन्द्रलाई हामी नगर अस्पतालका रुपमा बिकास गर्दैछौं । सँगसँगै विपन्न नागरिकहरुका लागि निशुल्क स्वास्थ्य बीमा गरिदिने हाम्रो योजना छ । नगर अस्पतालको बिकासका लागि अहिले लगभग १० करोड लागतको योजना चालू छ । यसलाई सम्पन्न गरेर हामी यही अस्पतालबाट भरपर्दो, विश्वसनिय र स्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने हाम्रो अठोट छ ।

कृषितर्फ :

हाम्रो शिवसताक्षी नगर कृषि क्षेत्र ओगटेको नगर हो । यो भर्खरै गाउँबाट नगरमा बिकसित हुँदै गएको क्षेत्र पनि हो । हामीले शिवगञ्ज बजारमा कृषि उपज संकलन केन्द्र निर्माण गरिरहेका छौं । कन्काई सिँचाई आयोजनाको सिञ्चित क्षेत्र भएकाले हामी सिँचाइ प्रणालीलाई विस्तार गर्दै लगिरहेका छौं ।

चैते धान खेती प्रवद्र्धन गर्ने हाम्रो कार्यक्रम छर्दैछ सँगसँगै हामीले बास्मती धान खेतीलाई पनि प्रोत्साहन गर्दैछौं । सडक, पूर्वाधार आदि कुराहरु नियमित रुपमा भइरहने बिषय हुन् । खोला नदीको चपेटामा परेको भुगोल पनि भएकाले यहाँ हामीले संघीय सरकारको जनताको तटबन्धन कार्यक्रमसँगै आन्तरिक रुपमा समेत तटबन्धनका कामहरु अघि बढाइरहेका छौं भने खानेपानीको सेवालाई पनि हामी नगरका सबै ठाउँमा पुरयाउनका लागि माथिल्लो तहका सरकारसँग सहकार्य गरिरहेका छौं ।

-मेयर थोप्रा संगको टेलिफोन संवादमा आधारित

Facebook Comments Box