दमक/ झापाको विर्तामोडस्थित ज्योती बिकास बैंक र एभरेष्ट बैंकमा तोडफोड गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाइँ नेतृत्वमा रहेको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको युवा दस्ताका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विर्तामोड ३ का २७ बर्षिय मनकुमार तामाङ, विर्तामोड ५ का ३४ बर्षिय बुलेट भनिने अन्जेश राई , बुद्धशान्ति ४ का १६ बर्षिय दिपेश राई र विर्तामोड ४ का १८ बर्षिय पवन दुलाल रहेका छन ।
सो संगठनको युवा दस्ताको आयोजनामा बैंक तथा बित्तिय संस्थाले गरेको ज्यादती विरुद्धमा भिम तुम्बाम्फेको नेतृत्वमा आज दिउँसो करिब १ बजे भएको र्यालीमा सहभागी उनीहरुसहितको १२/१५ जनाको समुहले विर्तामोड ५ स्थित ति बैंकमा तोडफोड गरि सिसाहरु फुटाएको प्रहरीको आरोप छ ।
सिटी सेन्टर, इलाम स्टेन्ड, मुक्ति चोक हुदै पुनः सिटी सेन्टरमा पुगेर कोण सभा गर्ने भन्दै पैदल रयाली सुरू भएको थियो । नियन्त्रणमा लिइएका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्ण चन्दले जानकारी दिए ।