दमक/ दमक नगरपालिकाले यसैबर्षदेखि मात्रै नगरका २१ वटै सामुदायिक बिद्यालयहरुमा कक्षा ५ सम्म अनिवार्य अंग्रेजी माध्यमबाट निशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम शुरु गरिसकेको छ । तर दमकको ७ नम्बर वडामा रहेको पृथ्वी माबिले भने गत बर्षदेखिनै कक्षा ५ सम्म अंग्रेजी माध्यम निशुल्क पठनपाठन गराइरहेको छ भने यो बर्षदेखि कक्षा ७ सम्मनै अंग्रेजी माध्यममै निशुल्क शिक्षा प्रदान गर्दैछ ।
वडा नं ७ को वडा कार्यालयले शिक्षालाई विशेष प्राथमिकतामा राखेर बजेटको बन्दोबस्ती गरिदिएका कारण यो बिद्यालयले गत बर्षनै कक्षा ५ सम्म पूर्ण निशुल्क शिक्षा प्रदान गरिआएको छ ।
भर्ना, मासिक शुल्क मात्रै होइन अंग्रेजी माध्यमबाट पढाई हुने पाठ्यपुस्तकको व्यवस्था समेत बिद्यालयमा निशुल्क छ ।
बिद्यालयका प्रधानाध्यापक बिष्णुबहादुर राईका अनुसार चालू शैक्षिक सत्र २०८१ देखि भने पृथ्वी माविले कक्षा ७ सम्मनै अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदैछ ।
कक्षा ८, ९ र १० मा पनि वडा कार्यालयको सिफारिसमा विपन्न परिवारका बिद्यार्थीहरुले निशुल्क भर्नाको अवसर पाएका छन् । अहिले सम्म त्यस्तो निशुल्क भर्नाको सिफारिस लिएर आएका २२ जना बिद्यार्थी २१ बैशाख भित्रै भर्ना भइसकेका छन् । थप आउने क्रममा पनि छन् ।
प्रधानाध्यापक राई भन्नुहुन्छ– हामीले पोहोरदेखिनै कक्षा ५ सम्म कुनै शुल्क लिएका थिएनौं र यसपालीदेखि कक्षा ६ र ७ मा पनि निशुल्क भर्ना लिइरहेका छौं । उहाँले वडाध्यक्ष भिम पौडेलसहित सिंगो वडा कार्यालयले निशुल्क शिक्षा कार्यान्वयनका लागि विशेष प्राथमिकतामा राखिदिनु भएको कारण यो सम्भव भएको बताउनु भयो ।
बिद्यार्थीको चाप थेग्न सक्ने गरिको भौतिक पूर्वाधारको बिकासमा पनि वडाले उत्तिकै ध्यान दिएको, शिक्षक, अभिभावक र सरोकारवालाहरुको पनि सक्रिय योगदानका कारण यो बिद्यालयमा निशुल्क अंग्रेजी माध्यम सहज बनेको हो ।
दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल वडाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाएको बताउनु हुन्छ । वडाध्यक्ष पौडेल भन्नु हुन्छ– हाम्रो वडाले निशुल्क अंग्रेजी शिक्षा कार्यान्वयनको दमकमै सफल अभ्यास गरिरहेका छौं । बिद्यालयका हरेक कक्षा कोठाको निगरानी प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समिति अध्यक्षले गर्न सक्ने गरीको व्यवस्था मिलाइएको छ । कक्षा कोठा र बाहिर समेत कूल २९ वटा सीसी क्यामरा जडान गरि त्यस्तो व्यवस्था मिलाइएको हो । त्यसैगरी कम्प्युटर शिक्षालाई पनि बिद्यालयले उत्तिकै महत्वसाथ सञ्चालन गरिरहेको छ ।

स्थानीय सरकारको साथ प्रशंसनिय
पृथ्वी मावि प्रस्तावित हो । विसं २०१२ सालमा स्थापना भएको यो बिद्यालयले विगत ६/७ बर्षयता यो बिद्यालयले मावि तहको तहगत अनुमति त पाएको छ तर स्वीकृति भने पाउन सकेको छैन । माध्यमिक तह स्वीकृत नहुँदा मुख्य गरी यसका लागि चाहिने शिक्षकको दरबन्दी अभाव छ । दरबन्दी अभाव हुँदा हुँदै पनि स्थानीय सरकारको साथ, सहयोग र जनप्रतिनिधिहरुको सामुदायिक शिक्षाप्रतिको दृढ अठोटका कारण हाल कक्षा ७ सम्मनै अंग्रेजी माध्यमबाट निशुल्क पठनपाठन सम्भव भएको हो । यो बिद्यालयमा
माध्यमिक तहका २ जना शिक्षक सिकाई अनुदान अन्तर्गत छन भने निमा तहका ४ जनाको दरबन्दी छ ।
प्राथमिक तहमा भने एक जना राहतका समेत कूल १७ जनाको दरबन्दी छ । मातृभाषा र कम्प्युटर शिक्षक एक/एक जना निजी स्रोतबाट व्यवस्था गरिएको छ । बिद्यालयले स्थानीय पाठ्यक्रममा आधारित हाम्रो दमकको पनि पठनपाठन गराउँदै आएको छ ।
गत बर्षको शैक्षिक सत्रमा झण्डै एक हजार बिद्यार्थीले अध्ययन गरेको रेकर्ड छ । चालू शैक्षिक सत्रको पनि भर्ना अभियान जारी रहेको बेला यहाँ ६४५ जना बिद्यार्थी पुगिसकेका छन ।
अघिल्लो बर्षको कक्षा १० का बिद्यार्थी एसइइ दिएर बसेका छन भने दिनहुँ अन्य बिद्यार्थीहरु आउनेक्रम जारी छ । यही बिद्यालयको मातहतमा रहने गरी वडा नं १ मा हिमालय बाल बिकास केन्द्र सञ्चालनमा छ ।
वडा कार्यालयले गत बर्ष बिद्यालय सञ्चालनमा कूल ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने यो बर्ष कक्षा ७ सम्मनै पूर्ण निशुल्क र सो भन्दा माथि पनि आर्थिक विपन्नता भएका बिद्यार्थीलाई निशुल्क अध्ययन गराइरहेका कारण थप बजेट आवश्यक पर्ने देखिन्छ ।
वडाध्यक्ष पौडेलले बिद्यालयमा जे जति आवश्यक पर्छ त्यो वडाले ब्यहोर्ने बताउँदै कोही पनि बालबालिका बिद्यालय तहको शिक्षाको अधिकारबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्य राखेर अघि बढेको बताउनु हुन्छ ।
बिद्यालयका अनुसार २१ बैशाख सम्ममा कूल २२ जना बिद्यार्थीलाई कक्षा ८ देखि १० सम्मका कक्षामा निशुल्क अध्ययनका लागि वडाले सिफारिस पठाएको छ ।