दमक/ कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्सेर राईसहित सरकारका उच्च अधिकारीहरु र सञ्चारकर्मीहरुको संयुक्त टोलीले तेह्रथुमका पर्यटकीयस्थलहरुको अवलोकन तथा प्रवद्र्धनका बिषयमा अन्तरक्रिया गरेको छ ।
वैशाख २१ र २२ गते मन्त्री राई, राज्यमन्त्री सुनिता गुरुङ, मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौड्यालसहित सरकारी अधिकारीहरुको टोलीले प्रदेश सरकारबाट तेह्रथुमका विभिन्न पर्यटकीयस्थलहरुको स्थलगत अवलोकनसहित चोलुङ पार्क परिसरमा अन्तरक्रियात्मक छलफल गरेको हो ।
सो अवसरमा चोलुङ पार्कमा अवस्थित प्राचिन सम्पदाहरुको अवलोकनपछि मन्त्री राईले यो पार्कको बिकासले मुलुककै पर्यटन बिकासमा विशिष्ट योगदान दिन सक्ने उल्लेख गरे ।
सो अवसरमा तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी मिना अर्याल, लालीगुँरास नगरपालिकाकी उपप्रमुख जमुना कार्की मगर, वडा नं ३ का वडाध्यक्ष कमल बाँनिया, वडा नं ७ का वडाध्यक्ष एवं प्रवक्ता देवेन्द्र खड्का लगायतले मन्त्रीसहितको टोलीलाई स्वागत गर्दै चोलुङ पार्क , समग्र पर्यटन बिकासको सम्भाव्यता र यहाँका समस्याहरुबारेमा विभिन्न बिषयमा ध्यानाकर्षण गराएका थिए ।

मन्त्री राईसहितको सो टोलीले चोलुङ पार्कका अतिरिक्त त्यहाँबाट करिब ५ किलोमिटर आसपासमा रहेको अर्को पर्यटकीय आकर्षणको केन्द्र आरआर गार्डेन, तिनजुरे लगायतका प्राकृतिक सौन्दर्यताले भरिएका आकर्षक पर्यटकीयस्थलहरुको अवलोकन भ्रमण गरेको थियो । चोलुङ पार्क एउटा पुराना , मौलिक तथा साँस्कतिक पक्षहरुको संरक्षणका लागि बनाइएको पार्क हो । सो वडाका वडाध्यक्ष कमल बाँनियाले यो पार्कले यहाँँको विशेष महत्व राख्ने उल्लेख गरे । वडा नं ७ का वडाध्यक्ष देवेन्द्र खड्काले चोलुङ पार्क एक बर्ष अघि मात्रै औपचारिक रुपमा सञ्चालनमा आएको बताउँदै यो पार्क अवलोकनमा आउने पर्यटकहरुका माध्यमबाट दिगो आम्दानी गर्न सकिने सम्भावना रहेको बताए ।
वडाध्यक्ष खड्काले गत श्रावण यता मात्रै सो पार्कमा ६ लाख भन्दा बढी आम्दानी भएको बताउँदै यसलाई थप बिकासका लागि स्थानीय सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिआएको बताए ।
त्यस्तै यहाँको आरआर गार्डेन भित्र ढुंगाका कलात्मक मूर्तिहरुले आकर्षक बनाएको छ ।

प्राकृतिक मनोरम दृश्य र गर्मीको समयमा पनि बहने शीतल (चिसो) हावाले पर्यटकको मन अड्याउने गरेको छ । यतिबेला जंगलमा फुलेका गुँरासको फुल हेर्न लालीगुँरासमा पर्यटकहरुको उल्लेखिय भिड लाग्ने गरेको छ । होटल तथा अन्य बस्तुको कारोबार पनि यहाँ बढ्दो गतिमा रहेको स्थानीय व्यवसायीहरुको भनाई छ । बसन्तपुर बजार क्षेत्रको उत्तरतर्फ डाँडामा रहेको पाथीभरा देवीको मन्दिरका कारण पनि यहाँ धार्मिक पर्यटकहरुको आवागमन बढेको हो । यहाँको धार्मिकस्थलमा पूजाआजा र देवीको दर्शनका लागि विशेष गरी नेपाल र भारतबाट ठुलो संख्यामा पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन ।

लालीगुँरास नगरपालिका साविकका बसन्तपुर, फुलेक, सोल्मा, सुङ्गनाम र दांगपा गा.वि.स.को समायोजनपछि बनेको पालिका हो । मध्य पहाडी लोक मार्ग र कोशी राजमार्गको संगम स्थल हुनुका साथै नेपाल सरकारबाट घोषित १० वटा नयाँ शहर मध्येको एक शहर हो यहाँको बसन्तपुर बजार । संखुवासभा, ताप्लेजुङ्ग, तेह्रथुम जिल्लाको तराई संगको प्रवेशद्धार पनि हो लालीगुँरास ।
लालीगुँरास नगरपालिकाको पूर्व तर्फ म्याङ्लुङ् नगरपालिका, पश्चिम तर्फ धनकुटा संखुवासभा जिल्ला, उत्तर तर्फ संखुवासभा जिल्ला र दक्षिणतर्फ छथर गाउँपालिका पर्दछन् ।
