दमक/ दमक नगरपालिका वडा नं ८ को वडा कार्यालयले वडाका २१ जना बिद्यार्थीलाई कम्प्युटर सम्बन्धिको आधारभूत तालिम प्रदान गरेको छ । कार्यालयले सार्वजनिक सूचना मार्फत प्रशिक्षार्थीहरुबाट निवेदन माग गरि उनीहरुको माग अनुसार आधारभूत तालिम प्रदान गरेको हो ।
गत माघदेखि दमक कान्तिपुर एजुकेशन फाउण्डेशनसँग सहकार्यमा सञ्चालन गरिएको सो तालिममा वडा नं ८ भित्रका विभिन्न टोलबाट सहभागीहरु आएका थिए ।
एसइइ परीक्षा दिएका तथा कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई अहिले समायनुकुल कम्प्युटर प्रविधिबारे सुसुचित गराउँदै ज्ञान दिलाउने उद्धेश्यले सो तालिम प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल ९ दिपेश०ले बुधबार आयोजित तालिम समापन तथा प्रमाण पत्र वितरणमा बोल्दै स्थानीय सरकार युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न प्रयत्नशील रहेको बताए ।
सहभागीहरुले पनि आफूलाई आफ्नै ठाउँमा नयाँ योजनाका साथ स्थापित गराउने अठोट लिनुपर्ने वडाध्यक्ष दाहालले सुझाए ।
उनले सहभागीहरुलाई आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई अपग्रेड गरेर अघि बढ्न आग्रह गरे ।
सो अवसरमा वडा सदस्यद्धय ममता रसाइली र हरिमाया चुँडालले कम्प्युटर तालिम अहिले नभई नहुने आधारभूत आवश्यकता जस्तै बनिसकेकाले वडाले यसलाई प्राथमिकतामा राखेर अवसरको ढोका खोलिदिएको उल्लेख गरे ।
तालिमका सहभागीहरुलाई प्रमाण पत्र समेत उपलब्ध गराइएको फाउण्डेशनका सहायक प्रिन्सिपल अनिस चापागाइँले जानकारी दिए ।
फाउण्डेशनका अध्यक्ष राम पौडेलको अध्यक्षतामा भएको तालिम समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागीहरुका तर्फबाट तीन जना प्रशिक्षार्थीहरुले आआफनो अनुभव सुनाउँदै आगामी दिनमा कम्प्युटर सम्बन्धिका थप कोर्षहरु सञ्चालन गर्न स्थानीय सरकारसँग माग गरे ।


