दमक/ प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ विजयी भएका छन् ।
सुहाङका बुबा सुबास नेम्वाङले तीन दशकदेखि जित्दै आएको यो क्षेत्रमा उनको निधनपछि भएको उपचुनावमा उनका छोरा सुहाङ भारी मतान्तरसहित कांग्रेसका डम्बर खड्कासँग विजयी भएका हुन् । मंगलबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी खड्काले २१ हजार ९ सय ४२ मत पाए ।
२०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर पराजित भएका थिए । यसपटक नेम्वाङ पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् । २०७९ मा एमाले एक्लै चुनावी मैदानमा रहेकोमा यसपटकको उपचुनावमा एमालेले माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपासहितको समर्थन पाएको थियो ।
निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।
२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
रास्वपाका लिम्बुको जमानत जफत
यसैबीच इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको छ ।
प्रतिनिधि सभामा उम्मेदवारी दिएका उम्मेदवारले धरौटी जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाममा ६९ हजार ३७४ मत खसेको थियो । त्यसमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो ।