दमक/ झापाको झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार (आज ) साँझ करिब ६ बजे सो ठाउँका अक्कल बहादुर विश्वकर्माको घरको तेस्रो तलामा रहेका कारोबारी सोही गाउँपालिका वडा नं ४ स्थित खैरबारीका २५ बर्षिय सरिफुल आलमलाई नियन्त्रणमा लिने क्रममा दुई राउण्ड गोली प्रहार गर्नुपरेको हो ।
लागुऔषध कारोबारको सूचना पाएपछि उनलाई नियन्त्रणमा लिन लागुऔषध ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली त्यसतर्फ गएको थियो । आलमले प्रहरीमाथि दाउ र खुकुरी प्रहार गरेका कारण प्रतिरक्षा स्वरुप उनको पिँडुला र तिघ्रामा एक ÷एक राउण्ड गोली चलाउनु परेको प्रहरीको भनाई छ ।
गोली लागेर घाइते भएपछि नियन्त्रणमा लिइएका आलमको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ र खुकुरी समेत बरामद गरिएको छ । आलमको उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

 

Facebook Comments Box