सत्तारुढ पार्टी नेकपा एमालेको गौरादह नगर अधिवेशन यहि जेठ ४ र ५ गते हुँदैछ ।

अधिवेशन नजिकिएसँगै नगर अध्यक्ष को बन्ने ? पार्टी भित्र चर्चा सुरु भएको छ ।नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भित्र पर्ने गौरादहको नगर अध्यक्ष बन्न तीन चार जना शक्ति केन्द्र धाउन थालेका छन् । पार्टीको अध्यक्ष भएर पनि शक्ति केन्द्रले बजाएको मादलको तालमा नाच्नुपर्ने गौरादह,दमक ,कमल र गौरीगञ्जको नियति नै हो ।तर,ग्रासरुटका कार्यकर्ताहरू नगरको नेतृत्व नगरको संगठन निर्माण गर्ने ब्यक्तिलाई दिनुपर्ने बताउँछन् ।

गौरादह, पञ्चायत कालदेखि कम्युनिस्ट कार्यकर्ता जन्माउने कारखाना नै मानिन्छ । यस्तो ठाउँमा एकसा एक नेता छन् । ति मध्ये पनि नगर हाँक्न सक्ने नेतृत्वको वागडोर लिन सक्ने नेता दुर्गा गौतम मात्र भएको स्थानीय नेता कार्यकर्ता बताउँछन् ।
गौतमको पारिवारिक पृष्ठभुमि कम्युनिस्ट होइन । काङ्ग्रेस परिवारमा जन्मिए पनि गौतमले पारिवारिक विचारलाई चटक्कै छोडेर घरका एक्ला कम्युनिस्ट बने ।विचारधारा जे भए पनि उनको राजनीतिक यात्रामा पारिवारिक असहयोग भने भएन ।
एमाले,जनताको बहुदलीय जनवाद,पार्टी ,संगठन र पार्टीले तोकेका उमेदवारलाई चुनाब जिताउँदा जिताउँदै कपाल पाक्न लागेका नेता हुन् ,गौतम । तत्कालीन गौरादह गाउँ कमिटी एक कार्यकाल अध्यक्ष बनेका गौतमले दुई कार्यकाल क्षेत्रीय कमिटीको सदस्य बनेर काम गरे। हालसम्म राजनीतिक नियुक्ति र जनप्रतिनिधि बन्ने अवसर नपाएका गौतम द्वन्द्वले मुलुक जलिरहेका बेला माओवादीको बन्दुकसँग बिचारको लडाइँ लड्दै युवा संघ झापाको अध्यक्ष बने ।  लगातार तीन कार्यकाल अध्यक्ष बनेका उनले द्वन्द्वको चाङलाई पन्छाउदै पार्टीको संगठन गरे ।
माओवादी धम्की ,पार्टी परिवर्तनको दवाव,एमाले माथिको हस्तक्षेप जस्ता विषम परिस्थितिलाई पन्छाएर संगठनमा होमिएका गौतम सोहि कारण युवासंघको एक कार्यकाल केन्द्रिय सदस्य र सचिवालय सदस्य बन्न सफल भए ।

त्यतिमात्र होइन ,उनलाई नेतृत्वले पत्यायो र त्यसै बेला युवासंघको मेची इन्चार्ज बनायो । गौतम पार्टीप्रति सतिसाल जस्तै दृढ छन् । शक्ति केन्द्र सँग फरक मत राखेर अघि बढ्न सक्ने उनको क्षमता कै कारण अहिले उनको नाम नगर अध्यक्षमा प्रस्ताव गरिएको छ ।
जनता मावि गौरादहमा कक्षा ८ मा पढ्दै गर्दा अनेरास्ववियुमा संगठित भएका गौतम गौरादह क्याम्पसको समेत अध्यक्ष बने । १५ वर्षको उमेरमा अनेरास्ववियुमा लागेर कम्युनिस्ट राजनीतिमा पाइला टेकेका गौतम पछि झापा जिल्ला सदस्य समेत भए।

कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन ,युवा संगठनमा काम गरेको अनुभवको भारी छ,उनीसँग । उनी भन्छन् – पार्टीको विरासद अब मदन भण्डारी र मनमोहनका आदर्शले मात्रै जोगाउन सकिन्न । केन्द्रीय नेतृत्व प्रति ओैंला ठड्याउन सक्ने स्थानीय नेतृत्व अबको आवश्यकता हो । २०५१ सालमा एमालेको संगठित सदस्यता लिएका गौतमले सामाजिक क्षेत्रमा पनि थुप्रै सार्वजनिक पदमा बसेर काम गरेका छन् ।

उनले तत्कालीन झापा उद्योग वाणिज्य संघ गौरादह शाखाको सदस्य , गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको उपाध्यक्ष भएर काम गरिसकेका छन् । उमेरले ५० वर्ष पुगेका गौतम हालसम्म धैर्य भएर पार्टी नेतृत्वले दिएको जिम्मेवारी पुरा गरिरहेको बताउँछन् । उनले भने – म कुनै गुटको उमेदवार होइन । ब्यक्ति भन्दा पार्र्टीको सामुहिक हितमा काम गर्ने मेरो लक्ष्य हो । धेरै सहकर्मीहरु र पार्टीका अग्रज नेता, कार्यकर्ताहरुबाट सकारात्मक सहयोगको वचन आएकाले गौतम अध्यक्ष बन्न सक्ने स्थानीय एमाले कार्यकर्ता बताउँछन् ।

Facebook Comments Box